सिमसार क्षेत्र मासिँदै गएकाेमा चिन्ता

सिमसार क्षेत्र मासिँदै गएकाेमा चिन्ता

केन्द्रबिन्दु
0
Shares

विभिन्न कारणले सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका सिमसार र रामसार क्षेत्रहरु अतिक्रमणमा परेका छन्। अतिक्रमणका कारण ती क्षेत्र खुम्चिँदै गएका छन्।

सिमसार क्षेत्र मासिने जोखिम बढेपछि यस क्षेत्रको वातावरणमा प्रतिकूल असर परिरहेको छ। वातावरण र वन्यजन्तुलाई जोगाउन सिमसार क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् 

वातावरण सन्तुलित बनाइराख्ने साथै दुर्लभ चराचुरुङ्गीहरुको मुख्य विचरण क्षेत्र सिमसार मासिँदा चरा आगमन पनि प्रभावित बनेको छ। धेरैजसो सिमसार क्षेत्रहरु जलकुम्भी झारले ढाकिएका छन्। यसले गर्दा चराहरुले आहारा प्राप्त गर्न समस्या हुने गरेको छ।

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने गर्छन्। दुर्लभ चराहरुको बासस्थान मानिने कोशीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरु आउने गरेका छन्।

सिमसारहरु सफाइ गर्ने, पानी निरन्तर उपलब्ध हुने व्यवस्था गर्ने जस्ता काम आवश्यक रहेको चरा संरक्षणमा सक्रिय संस्थाका प्रतिनिधिहरुको भनाइ छ।

आरक्ष क्षेत्रमा संरक्षणको काम गर्नका लागि ठूलो परिमाणमा बजेट आउने गरे पनि संरक्षणको काम भने प्रभावकारी हुन नसकेको सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको भनाइ छ।

नेपालमा ३२७ वटा ताल तथा सिमसार क्षेत्र रहेको तथ्यांक छ। तीमध्ये उच्च पहाडी क्षेत्रमा ७८, मध्य पहाडी क्षेत्रमा ८६ र तराईमा १६३ वटा पर्छन्। नेपालमा रहेका नौवटा रामसार क्षेत्रमध्ये कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्ने कोशी नदीको बाँध क्षेत्र र आसपास क्षेत्र महत्वपूर्ण मानिन्छ।

सुनसरी, सप्तरी र उदयपुरको बीचमा पर्ने आरक्ष क्षेत्रमा ४५० प्रजातिका माछा, विभिन्न दुर्लभ प्रजातिका चरा र वन्यजन्तु पाइने बराहक्षेत्रका सिमसार र चरासम्बन्धी जानकार भीष्म अधिकारी बताउँछन्। सिमसार क्षेत्रहरुमा स्थानीय माझीहरुले माछा मार्ने, कतिपयले विषादी समेत हाल्ने गरेकाले चराहरु संकटमा पर्ने गरेको आरक्षका अधिकारीहरुको भनाइ छ।

माछा मारेर जीविकोपार्जन गर्ने माझीहरुले भने आफूहरुको जीवनयापनका लागि वैकल्पिक व्यवस्था गरिदिए सिमसार क्षेत्रको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने जनाएका छन्। कोशीटप्पु माझी संघका अध्यक्ष बलराम माझी माछा मारेर गुजारा गर्नेहरुका लागि वैकल्पिक व्यवस्था गरिदिए सिमसार क्षेत्रमा चाप घट्ने बताउँछन्।

केही वर्ष अघिको तुलनामा अचेल उल्लेख्य संख्यामा भने चराहरु देखिएका छैनन्। आरक्ष क्षेत्रमा रहेका सिमसारहरु सुक्दै जानु, चराको आहारा र बासस्थान मासिनु जस्ता कारणले चरा आगमन प्रभावित भएको स्थानीय जानकारहरुको भनाइ छ।

नेपालमा ८ सय ८८ प्रजातिका चरा पाइने गरेको तथ्यांक छ। तीमध्ये कोशीटप्पु आरक्ष क्षेत्रमा मात्रै ५ सय २३ भन्दा बढी प्रजातिका चराहरु पाइन्छन्। हासका मात्र ३४ प्रजाति नेपालमा पाइन्छ। यस क्षेत्रमा विश्वमै संकटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पाइन्छन्।

सिमसार क्षेत्र मासिँदै गएपछि चरा आउने क्रम प्रभावित हुँदा आरक्ष क्षेत्रमाम चरा र वन्यजन्तु अवलोकन तथा अध्ययन गर्न देश तथा विदेशका अनुसन्धाताहरुको आउने क्रम पनि पातलिएको छ।

२०६५ भदौ २ गते कोशी गाउँपालिकाको पश्चिम कुसाहा-४ मा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएपछि पनि चराको बासस्थानहरु प्रभावित भएका थिए। त्यस बेला कतिपय सिमसार क्षेत्र पनि मासिएका थिए।

सिमसार क्षेत्रको संरक्षण गर्दै वातावरण जोगाउन तीनै तहका सरकारहरुको सक्रियता आवश्यक देखिएको छ। संरक्षणको कामलाई बेवास्ता गरे दुर्लभ वन्यजन्तु मासिनुका साथै वातावरणमा नकारात्मक असर बढ्दै गएर मानिसहरु पनि जोखिममा पर्ने देखिन्छ।

Logo