महाकवि देवकोटालाई मानवतावादी कविका रुपमा स्मरण

महाकवि देवकोटालाई मानवतावादी कविका रुपमा स्मरण

केन्द्रबिन्दु
0
Shares

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५औँ जन्मजयन्तीका अवसरमा आज विविध साहित्यिक कार्यक्रमसहित उनको योगदानलाई स्मरण गरिएको छ।

लक्ष्मीजयन्तीका अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या बहुमुखी कलेजले आज विशेष साहित्यिक कार्यक्रम आयोजना गरी महाकवि देवकोटाको योगदानलाई स्मरण गरेको हो। कार्यक्रममा वरिष्ठ साहित्यकारले महाकविलाई विराट प्रतिभा र मानवतावादी कविका रुपमा मूल्याङ्कन गरेका थिए।

वरिष्ठ कवि तुलसी दिवसले महाकवि देवकोटाका कालजयी रचनाका कारण मुलुकमा अन्य स्रष्टा जन्मन प्रेरणा मिलेको बताउँदै देवकोटा सबैखालका विचार, समुदाय र क्षेत्रका साझा महाकवि भएको उल्लेख गरे।

कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष रामप्रसाद दाहालले महाकवि देवकोटा मानवतावादी कवि भएको बताए। “महाकवि देवकोटा मान्छेलाई ईश्वर बनाउन नचाहने र ईश्वरलाई मान्छे बनाउन नचाहने स्रष्टाका रुपमा हुनुुहुन्थ्यो”, उनले भने। दायित्व वाङ्यमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले महाकवि देवकोटालाई स्वच्छन्दतावादी कविका रुपमा चित्रण गरे।

कार्यक्रममा कविहरु अनिता कोइराला, कृष्ण बाउसे, सन्ध्या पहाडी तथा कलेजका छात्रा कविहरु रेणुका कँडेल, पार्वती भण्डारी, निकिसा श्रेष्ठ र सुस्मिता कोइरालाले महाकवि देवकोटासम्बन्धी कविता वाचन गरेका थिए। साहित्यिक क्षेत्रमा योगदान दिएबापत सन्ध्या पहाडीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा उपेन्द्रराज शर्मा काफ्लेको कवितासङ्ग्रह ‘मनकामना’ को लोकार्पण गरिएको थियो। सो अवसरमा कलेजका छात्रा इशा गोतामे, काशिका रायलगायतले तिहार पर्व झल्काउने मौलिक सांस्कृतिक भैलो प्रदर्शन गरेका थिए।
 
महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनि नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा सशक्तरुपमा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन्।

Skip This
Skip This
Logo