नेपालमा बेरोजगारको संख्या बढ्दो, यस वर्ष आठ लाख ८५ हजार सूचीकृत

नेपालमा बेरोजगारको संख्या बढ्दो, यस वर्ष आठ लाख ८५ हजार सूचीकृत

केन्द्रबिन्दु
0
Shares

नेपालमा बेरोजगारको संख्या बढ्दै गएको छ। गत आर्थिक वर्ष २०७९/०८० मा भन्दा चालु आर्थिक वर्षमा नेपालमा ४३ हजार ६६९ जना बेरोजगार थपिएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा आठ लाख ८५ हजार १५५ जना बेरोजगारहरू सूचीकृत भएका छन्।

अघिल्लो आर्थिक वर्षमा आठ लाख ४१ हजार ४८६ जना बेरोजगार सूचीकृत भएका थिए। प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनको लागि उक्त संख्यामा बेरोजगारहरूले आफ्नो नाम लेखाएको श्रम मन्त्रालयले जनाएको छ। देशका विभिन्न स्थानीय तहमा रहेका श्रमिक र रोजगार सेवा केन्द्रमा बेरोजगारहरूले नाम टिपाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) हालसम्म एक हजार ३१२ वटा आयोजना छनोट गरिएको छ ।

यसवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा ६९० जना बेरोजगार व्यक्तिहरू रोजगारीमा संलग्न भइसकेको मन्त्रालयले जनाएको छ । रोजगारीमा खटिएका व्यक्तिहरूबाट ९ हजार १६० कार्यदिन काम भएको छ । गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ९१ हजारभन्दा बढी बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रदान गरिएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा कुल आठ लाख ४१ हजार ४८६ जना सूचीकृत बेरोजगार भएकामा कुल ९१ हजार ५८३ जनालाई ७८ दिनको औसत रोजगारी प्रदान गरिएको थियो । 

Logo