राजसंस्थाको मुद्दा त्यागे दुर्गा प्रसाईंसँग सहकार्य हुन्छः मनिराम ज्ञवाली

राजसंस्थाको मुद्दा त्यागे दुर्गा प्रसाईंसँग सहकार्य हुन्छः मनिराम ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ का अध्यक्ष मनिराम ज्ञवालीले दुर्गा प्रसाईं राजसंस्थाको मुद्दा त्याग्न तयार भए उनीसँग सहकार्य गर्ने बताएका छन्।

मंगलबार राजधानीको संवाद डबलीमा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष ज्ञवालीले राजतन्त्रको मुद्दा बोक्ने प्रसाईबाट वित्तीय अराजकताबाट पीडितजनताले मुक्ति नपाउने ठोकुवासमेत गरेका हुन्।

बैंक,सहकारी तथा लघुवित्तपीडित जनताको सहानुभूति लिएर राजतन्त्र फर्काउने प्रसाईंको द्वैध चरित्र सहितको सपना पूरा नहुने उनको जिकिर छ।आफूहरुले प्रसाईंले उठाएका राजन्त्रबाहेक वित्तीय अराजकता विरोधि मुद्दालाई समर्थन गरेको र सहकार्य पनि गर्न तयार रहेको बताउँदै भने,‘दुर्गाजी जनताको पीडक राजसंस्थाको मुद्दा त्यागेर आउनुस् भोलिबाटै हामी हातेमालो गर्न तयार छौँ, तर तपाईं पीडितको फेरो समाएर चिहानको कंकाललाई जीवित पर्ने सोच त्याग्नुस्।’

गणतन्त्रले समस्या हल किन नगरेको भन्ने प्रश्नको जवाफमा ज्ञवालीले भने‘राजतन्त्र फालेर बल्ल बोल्ने र आन्दोलन गर्ने अवसर मिलेको छ,यही आन्दोनलनबाट सरकारले सम्बोधन गर्नेमा हामी विश्वस्त छौँ।’

संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले आफूहरुको नारा बेचेर प्रसाईंले राजसंस्था ल्याउने आधार बनाउन लागेको भन्दै आक्रोस व्यक्त गरे। आफूहरुले २२ महिनादेखि आन्दोलन गर्दै आएको मुद्दा उठाएर प्रसाईंले संघर्षलाई अन्यत्र मोड्न लागेको आरोप लगाउँदै उनले भने,‘ठूलो त्याग गरेर सामन्ती राजतन्त्र फाल्यौँ पुनः त्यसैको पुनस्थापना गर्न पीडित जनतालाई भ्रमित पार्दै बितण्डा मच्चाउने उनको सपना पूरा हुनै सक्दैन।’

संघर्ष समिति सुदूरपश्चिम प्रदेश इन्चार्ज मणिप्रसाद चौलागाईले आफूहरुको र दुर्गा प्रसाईंको आन्दोलनमा आकास–पातालको अन्तर रहेको धारणा राखे। उनले सरकारले वित्तीय माफियाहरुलाई कारबाही गर्न नसके आफूहरुले सडकबाट कारबाही गर्ने चेतावनी समेत दिए।

यस्तै, कर्णाली प्रदेश संयोजक आशा सञ्जेलले लघुवित्तीय संस्थाहरुको अराजकता गाउँगाउँ पुगेर उठिबास लगाउन थालेकाले सरकारले छिटोभन्दा छिटो निकास दिन पर्ने धारणा राखिन्।

समितिका विदेश विभाग प्रमुख गगनबहादुर विकले देशमा लघुवित्तहरुको ज्यादतीका कारण हजारौं दिदी–बहिनीहरु विदेश गएर झन् दुःख पाइरहेकोले अब विदेशबाट पनि झिकाएर संघर्ष गर्ने चेतावनी दिए।

केन्द्रीय सचिव तथा वार्ता कमिटी संयोजक रमेश तामाङले नयाँ संघर्षका कार्यक्रम सार्वजनिक गर्दै फागुन १ गतेदेखि काठमाडौंकेन्द्रीत अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम गर्ने बताए। समितिका अनुसार मंसिर ५ गते काठमाडौंलगायत विभिन्न जिल्लामा विरोध प्रदर्शन गरिने छ। मंसिर १५ गतेदेखि देशव्यापी रुपमा विरोध प्रदर्शन जारी राख्ने समितिले जनाएको छ।

यसैगरी, मंसिर २६ गते राष्ट्र बैंक केन्द्रीत आन्दोलन, प्रदेश सम्मेलन सहित सुदूरपश्चिमबाट कार्यक्रम सुरु गर्ने जनाइएको छ। पुस ३ गते कर्णाली प्रदेश, पुस ८ गते लुम्बिनी प्रदेश, पुस १३ गते गण्डकी प्रदेश, पुस १७ गते बागमती प्रदेश, पुस २४ गते मधेश प्रदेश र  माघ ७ गते कोशी प्रदेशमा कार्यक्रम गरिने जनाइएको छ।

यस्तै, माघ १६ र १७ गते राष्ट्रिय सम्मेलन गरिने समितिले जनाएको छ। फागुन १ गतेदेखि काठमाडौँ केन्द्रीत अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम गरिने संघर्ष समितिले जानकारी दिएको छ।

Logo