कामना न्यूज पब्लिकेसन्स आजदेखि ४० वर्षमा प्रवेश

कामना न्यूज पब्लिकेसन्स आजदेखि ४० वर्षमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

नेपालको अग्रणी सञ्चार संस्था कामना न्यूज पब्लिकेसन्स् प्रालि विभिन्न आरोह–अवरोह पार गरी चुनौतीलाई छिचोल्दै आजदेखि ४० वर्षमा प्रवेश गरेको छ । 

पञ्चायत शासनव्यवस्था कै अवस्थामा र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न नसकिने बेलामा यसका संस्थापक अध्यक्ष पुष्करलाल श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नयाँ प्रयोग गरेर २०४१ साल १५ मंसिरमा आजैका दिन यो पब्लिकेसन्स्को  स्थापना गरेका थिए । 

अध्यक्ष श्रेष्ठले वर्षको एउटा दुईटा पनि फिल्म नबन्ने समयमा फिल्म क्षेत्रलाई नै लक्षित गरी कामना मासिक पत्रिका शुरू गरेका थिए । यो प्रयास आफैंमा निकै चुनौतीपूर्ण भए पनि अन्ततः फिल्म क्षेत्रमा मात्रै नभएर सिंगो सञ्चार क्षेत्रमा नै एउटा कोशेढुंगा सावित भयो ।

अहिले पब्लिकेसन्स् ४० वर्षमा प्रवेश गरिरहँदा मुलुकमाआर्थिक संकट विद्यमान रहेको र सिंगो सञ्चार जगत्समेत समस्याग्रस्त अवस्थामा छ । यस्तो स्थितिमा पनि नियमित आकारमै १ सय ३२ पेजको ऐतिहासिक र संग्रहणीय विशेषाङ्क प्रकाशन गर्न सफल छ । यो आफैंमा छापा सञ्चार माध्यममा एउटा नयाँ कीर्तिमानी भएकाे कम्पनीकाे दाबी छ ।

वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले राष्ट्र, राष्ट्रियता, सामाजिक सहिष्णुता र जातीय सद्भावका पक्ष तथा मुलुकमा सुशासन कायम गराउने कार्यमा सदैव समर्पित भएर कार्य गरिरहेकाे र राजनीतिक, आर्थिक, सामाजिक, मनोरञ्जन, खेलकुद, सांस्कृतिक, विकासमा महत्वपूर्ण भूमिका निभाउँदै आएकाे बताएका छन् ।  

जीवनको प्रारम्भिक कालमा दलविहीन पञ्चायती व्यवस्थाको राप सहदै अघि बढेको प्रकाशन संस्था बहुदलीय काल हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको साक्षी र पहरेदार दुवै बन्न पाएकोमा उनले खुशी व्यक्त गरेका छन् । 

कामना न्यूज पब्लिकेसन्सले कामना सिने मासिकसँगै क्रमशः साधना मासिक, महानगर दैनिक, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, न्युज अफ नेपाल अनलाइनजस्ता सशक्त सञ्चारमाध्यमलाई निरन्तर सञ्चालनमा ल्याएको हो ।  

Logo