कठिन जीवनयापनलाई सहज बनाउने छौँः चिरीबाबु महर्जन

कठिन जीवनयापनलाई सहज बनाउने छौँः चिरीबाबु महर्जन

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन लागिपर्ने बताएका छन् । 

अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित -यालीको समापनसहित पाटन दरबार अवलोकन कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिका समस्या समाधानका साथै उनीहरुको जीवनयापनलाई सहज बनाउन समयसापेक्ष नीति तथा कार्यक्रम अगाडि बढाइने बताए ।

“हरेक वर्षको डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रुपमा मनाउने गरिन्छ । हामीले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही न केही नयाँ काम गर्दै आइरहेका छौँ । यस वर्ष विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराउने कार्यक्रम राखेका हौँ”, प्रमुख महर्जनले भने । 

उनले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने बताए ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि सीप विकास र जीवनयापनका लागि शिक्षाको व्यवस्थापन महानगरले गर्ने विश्वास व्यक्त गरे । उनले अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्नका लागि सहजीकरण र समन्वयका माध्यमबाट तीनै तहको सरकारलाई आवश्यक नीति तथा कार्यक्रम बनाउन प्रेरित गर्ने बताए । 

अपाङ्गता भएका व्यक्तिको जिल्ला संयोजक भोजराज श्रेष्ठले नेपालमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको ३२ वर्ष भएको स्मरण गर्दै सङ्घीय सरकारले भत्ताबाहेक अरु सुविधा नदिएको गुनासो व्यक्त गरे । उनले अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि अरु सेवासुविधा उपलब्ध गराउने गरी आवश्यक नीति तथा योजना बनाएर दैनिक जीवनयापनमा सहज बनाइनुपर्नेमा जोड दिए । उनले अपाङ्गताका सवालमा ललितपुर महानगर धेरै अगाडि बढेको भन्दै भए गरेका कामको प्रशंसासमेत गरे । 

Logo