सर्वोच्च अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दा दोहोर्याएर हेर्न अनुमति प्रदान गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्याएर हेर्न अनुमति दिएको हो।
सर्वोच्चले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारिरीक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी उच्च अदालत पोखराले गत वर्षको फागुन ११ मा फैसला गरेको भन्दै पलबारेको उक्त फैसला दोहोर्याउन निस्सा प्रदान गरेको हो।
उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।
नवलपुर जिल्ला अदालतले पल शाहलाई सफाइ दिने गरी गरेको फैसलाविरूद्ध उच्च अदालतमा सरकारी वकिलले निवेदन दिएको थियो।शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला नवलपुर अदालतले गरेको थियो।
उक्त फैसलाविरूद्ध पलले पनि निवदेन दिएका थिए। दुवै निवेदन सँगै राखेर हेरेको उच्च अदालतले पल शाहलाई पूर्ण सफाइ दिएको थियो। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। त्यही आधार देखाएर उच्च अदालतले सफाइ दिएको हो।
शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।





























प्रतिक्रिया