नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा जारी छ । रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुस २ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदका लागि चुनावी मैदानमा छन्, विजय गुरुङ, रजनी थापा, रविन पोखरेल र रश्मी सिल्पकार। त्यसबीच चर्चामा छिन्, वर्तमान उपाध्यक्षसमेत रहेकी रजनी थापा ।
समाजसेवा तथा सामाजिक कार्यहरूमा सक्रिय थापाले नेपालका युवाहरूको चौतर्फी विकासका लागि स्थानीय जेसीजसँग सहकार्य गरेर कसरी सकारात्मक रूपमा अगाडि बढाउने भन्ने विषयलाई मुख्य एजेण्डाका रुपमा अघि बढाएकी छन् । जेसीजका माध्यमबाट सकारात्मक परिवर्तन र व्यावसायिक जीवन र मन-मनमा जेसीज अभियानलाई अन्तर्राष्ट्रिय जगतमा नेपालको गरिमा बढाउन सक्षम नेतृत्व आवश्यक रहेको महसुस गर्दै उनी मैदानमा होमिएकी हुन् ।
जेसीजमा नेपाली युवाहरुको भविष्य देख्छिन्, रजनी थापा ।
पीसीएल नर्सिङ, कानूनमा स्नातक, राजनीतिशास्त्र, जनप्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी थापाले हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा विद्यावारिधि गरिरहेकी छिन् । सीटीईभीटीको नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेकी उनले नेपाली कांग्रेस टोखा नगरसमितिको सचिवको भूमिका पनि निर्वाह गरिसकेकी छिन् । यस्तै, महिला संघ टोखा नगर सभापति तथा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण विभागको प्रशिक्षकको रूपमा कामको अनुभव पनि उनीसँग छ । राजनीति र उद्यमलाईसँगसँगै अघि बढाइरहेकी उनले पछिल्लो समय दोलखास्थित सिंगटी हाइड्रोपावरमा निर्देशक भएर पनि काम गर्दै आएकी छिन् ।
यस्तै, थापाले २०७९ को स्थानीय तहको निर्वाचनमा टोखाकाे नगर प्रमुखमा आफ्नो उम्मेदवारी दिएकी थिइन् । तर, झिनो मतान्तरका कारण उनी सफल भने भइनन् ।
रजनी थापा आफूलाई संघर्षशील महिलाको रुपमा पनि चिनाउन चाहन्छिन् । काठमाडौंको सामान्य परिवारमा जन्मिएकी उनले आमा बनेपछि मोडलिङमा करिअर सुरु गरेकी थिइन् । विभिन्न मुलुकमा भएका ‘श्रीमती सुन्दरी’ प्रतियोगितामा सहभागी भएर धेरै देशका प्रतियोगीलाई उछिन्नसमेत सफल भएकी थिइन् उनी ।
![अन्तर्वार्ता] टोखालाई नेपालको पहिलो हरित सहर बनाउनेछु: रजनी थापा - Seto Mato](https://setomato.com/wp-content/uploads/2022/05/Rajani-Thapa.jpg)
यसैबीच जीवनमा गम्भीर प्रकृतिको विरामी परेर जीवनबाट हार खाइसकेको अवस्थामा नेपाल जेसीजले अस्पतालमै गएर दिएको आँट, साहस र हौसलाका कारण रजनी थापा नेपाल जेसिजमा आवद्ध भइन् । विश्वस्तरमा नै बन्धुत्वको सम्बन्ध स्थापित गर्न सुनौलो अवसर प्राप्त हुने हुनाले उनी जेसीजमै सक्रिय रहिन् । विरगंजमा सम्पन्न ४९औं राष्ट्रिय महाधिवेशनबाट थापा सबैभन्दा धेरै मत प्राप्त गर्दै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भइन् । आफ्नाे कार्यकालमा सफलतापूर्वक जिम्मेवारी पूरा गरिन् । अब उनको लक्ष्य छ, जेसिजको नेतृत्वमा बसेर स्थानीय र केन्द्रलाई जोडेर युवाको चौतर्फी विकासमा काम गर्नू ।
‘जेसीजले म माथि गराएको नेतृत्व र क्षमता विकासका कारण यो संस्था हाँक्न मलाई कुनै समस्या छैन ।’
१२ कक्षा उत्तीर्ण हुनेवित्तिकै विदेशको होइन पहिला स्वदेशमा भएका सम्भावनाको सपना देख्न सुझाउने उनी भन्छिन्, ‘जेसीजले म माथि गराएको नेतृत्व र क्षमता विकासका कारण यो संस्था हाँक्न मलाई कुनै समस्या छैन । जेसिजमा बसेर स्थानीय र केन्द्रलाई जोडेर युवाको चौतर्फी विकासमा काम गर्नु नै मेरो मुख्य रणनिती हो । यो रणनीति पूरा गर्न मैले नै नेतृत्व गर्नपर्ने आवश्यकतालाई महसुस गरी आफूले अध्यक्ष पदमा उम्मेदवारी अघि सारेकी हुँ ।’
राष्ट्रियस्तरमा सरकार र सरोकारवाला निकायसँग युवाहरुको अवसर र क्षमताको व्यवस्थापन गर्ने गरी नीति निर्माण र अवसर प्रदान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ अघि बढेकी उनलाई कांग्रेसका शिर्ष नेताहरुको पनि बलियो साथ छ ।
जेसीज १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था हो । जुनियर चेम्बर इन्टरनेसनल, जसलाई सामान्यतया ‘जेसीआई’ भनेर चिनिन्छ, एक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था यसको लगभग १२४ वटा देशहरूमा सदस्यहरू छन्, र ती मध्ये अधिकांश क्षेत्रीय वा राष्ट्रिय संगठनहरू छन् । जेसीजले मुख्यतः व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्रमा काम गर्ने गर्दछ । विश्वस्तरमा नै बन्धुत्वको सम्बन्ध स्थापित गर्न सुनौलो अवसर प्रदान गर्ने जेसिज उद्यममा अगाडि बढ्न चाहने १२० राष्ट्रमा रहेका युवाहरूले सहयोग पाउन सक्छन् । त्यसकारण पनि जेसीजमा नेपाली युवाहरुको भविष्य देख्छिन्, रजनी थापा ।































प्रतिक्रिया