सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने भएको छ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न लागेको हो।
काँग्रेस नेता रमेश लेखकका अनुसार गठन भएपछि आजैदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले न्यायिक छानबिन आयोगको माग गरेको थियो । आइतबार बसेको सत्ता गठबन्धको बैठकपछि प्रधानमन्त्री प्रचण्ड आयोग गठनका लागि तयार भएका थिए।
यसअघि घटना भएकै दिन पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो। तर उक्त छानबिन समितिप्रति मृतकका परिवारले असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राख्दै आएका छन्।
बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो।





























प्रतिक्रिया