पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मंगलबार स्तनपान कक्षको उद्घाटन गरेकी छन्।
शिशुलाई स्तनपान सामान्य विषयका रुपमा लिन नहुने उनले बताइन्। मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्यनजर गर्दै कोषले गरेको व्यवस्था राम्रो भएको भनाइ उनले राखिन्।
उनले भनिन्, ‘यो धेरै पहिलादेखि उठेको विषय थियो, भक्तजनहरुले दिएको सुझाव पनि भएको हुनाले पशुपति विकास कोषको बैठकमा यो विषयको बारेमा कुरा उठेको थियो। आज यसको उद्घाटन भएको छ, यो हेर्दा सामान्य लाग्न सक्छ, तर समाजमा महिलाको हिसाबमा सोच्ने हो भने कठिन विषय नै हुन्छ। आज यो कोषले गरेको काम आभार व्यक्त गर्न चहान्छु।’
मन्त्री सिर्पालीले आगामी दिनमा भक्तजनहरुको सुविधाका लागि थप काम गर्दै जाने भन्दै यसबाट पर्यटनको क्षेत्रमा पनि सकारात्मक सन्देश जाने बताइन्।
उनले भनिन्, ‘पशुपतिनाथप्रतिको आस्थालाई अझै प्रसिद्ध गर्नको लागि यहाँ आउने भौतिक सुविधाहरु पनि आवश्यक पर्छ। दर्शन गर्न आउदा मानिसले खोज्ने भनेको एउटा भगवान्को पूजा अर्को भौतिक संरचनामा सुविधा पनि हो। यसले पर्यटनको क्षेत्रमा पनि सकारात्मक सन्देश दिन्छ, यसले भोलिको दिनमा अझै राम्रो कामहरु पनि गर्न सकिन्छ।’





























प्रतिक्रिया