नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप सिरिजको सुरुवात

नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप सिरिजको सुरुवात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं – धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोक्रस रेसट्रयाकडर्ट टेम्पलले, डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात गरेको छ । जनवरीदेखि सुरु भएको यो च्याम्पियनसिरिज नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप हो ।

पाँच वटा रेससम्मको यस सिरिजले नेपाली मोटोस्पोर्टसलाई थप उचाइँमा पु-याउन र नेपाली रेसिङ प्रतिभाको नयाँ पुस्तालाई प्रबर्दन गर्ने प्रयास गरेको छ । यस च्याम्पियनसिरिजको तेस्रो रेससम्म पुरा भइसकेको छ । चौथौ‌ रेस मार्चको २८ र ३० गते हुने छ भने फाइनल अर्थात पाँचौ‌ रेस एप्रिलको २५ र २७गते धुलिखेलमा नै हुने छ । हालसम्मको रेसमा रिजन खड्की ६३ पोइन्टले अगाडी रहेका छन् भने खुलामा अनमोल सापकोटा ९४ पोइन्ट्स ल्याएर अग्रपंग्तिमा रहेका छन् ।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजले रेसरहरूलाई उनीहरूको सीप, प्रतिभा र धैर्यशीलतालाई चुनौती दिने दृश्य प्रस्तुत गरेको छ । अभ्यास सत्र, क्वालिफायर र फाइनल रेससहित अप्रिलमा यस च्याम्पियनसिप पुरा हुनेछ । यसका लागि निरन्तर प्रतिस्पर्धा र अभ्यास भइरहेको आयोजकले बताएका छन् ।

डर्ट टेम्पलका इजब बरुण भन्छन्, ‘यो च्याम्पियनसिप नेपाली मोटोस्पोर्टसका लागि महत्वपूर्ण उपलब्धि हो ।’, ‘हामी स्थानीय रेसरहरूलाई उनीहरूको क्षमता देखाउने मञ्च उपलब्ध गराउने मात्र नभएर हाम्रो देशमा मोटोक्रसको विकास र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटो प्रशस्त रहेको देखाउन पनि पहल गरिहेका छौं ।’

यस सिरिजमा दुई वर्ग रहेका छन् । खुला वर्गका लागि स्टक २५० सीसी मोटरसाइकलमा चढ्ने नयाँ रेसरहरू छन् भने एलिट वर्गमा प्रोफेसनल रेसरहरू छन् । २९ जना रेसरहरूमध्ये एलिटमा ९ जना र २० जना खुला वर्गमा रहेका छन् । उनीहरुले रेसपछि उपाधि र क्यास प्राइजहरु जित्नेछन् । साथै एलिट वर्गको एक विजेताले भने क्रसफायर ट्रेकर २५० मोटरसाइकल पाउनेछन् ।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिज डर्ट टेम्पलको युट्युब च्यानलमार्फत लाइभ प्रसारण पनि हुने छ । साथै धुलिखेलमा खानाका स्टलहरू र मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिने आयोजकले बताएका छन् । यस सिरिजलाई क्रसफायर मोटरसाइकल्स नेपाल, रिस मोटो, एमएके लुब्रिकेन्ट्स नेपाल, आईएमई पे, वर्ल्डलिंक, प्याराडाइम स्पोर्ट्स नेटवर्क र रेडबुल नेपालले प्रायोजन गरेका छन् । डर्ट टेम्पल रेसर विकासमा केन्द्रित रहनुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै र नेपालको मोटोक्रस क्षेत्रलाई विश्व स्तरमा पु-याउन प्रतिबद्ध भएको बताएको छ ।

डर्ट टेम्पल नेपालकै पहिलो र एक मात्र मोटोक्रस रेसट्रयाक हो, जसले रेसरहरूलाई उनीहरूको प्रतिभा देखाउने, आफ्नो सीपलाई सम्मान गर्ने र व्यावसायिक स्तरसम्म उनीहरूको महत्वाकांक्षालाई उचाइ दिने मञ्च प्रदान गर्दछ। राजधानी शहरबाट ३२ किलोमिटर टाढा धुलिखेलको मुटुमा अवस्थित डर्ट टेम्पलले नेपालमा मोटरस्पोर्ट्स र रेसिङ कल्चरलाई बढावा दिने लक्ष्य राखेको छ। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने नयाँ पुस्ताका रेसरहरू तयार गर्नु डर्ट टेम्पलको उद्देश्य रहेको बताइएको छ ।

Logo