राष्ट्रपति पौडेलले गरे घोडेजात्रा प्रदर्शनको अवलोकन [तस्बिरसहित]

राष्ट्रपति पौडेलले गरे घोडेजात्रा प्रदर्शनको अवलोकन [तस्बिरसहित]

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सोमबार टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा सहभागी भएका छन्। समारोहमा सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको पनि उनले अवलोकन गरे।

सो अवसरमा घोडा दौड़, जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएको थियो। समारोहमा उपराष्ट्रपति राजसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

कलाबाजीसँगै सेनाका विभिन्न प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार हस्तान्तरण गरेका थिए। घोडेजात्राका दिन उपत्यकामा सार्वजनिक बिदा दिने गरिएको छ।

चैत्र कृष्ण औंसी तिथिमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ। यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसात गरेको पाइन्छ। टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यसको संहार गरेको मान्यता छ। तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानि गर्न सक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी सहरभर घोडा कुदाउने प्रचलन छ।

घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने र बालबालिकामाथि खतरा नहुने जनविश्वास रहिआएको छ। घोडेजात्राकै दिन काठमाडौंको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ।

Logo