झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति पौडेल

झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
42
Shares

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक रहेको बताएका छन्। तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले झण्झटिलो प्रशासनिक सेवालाई सहज र सरल बनाउँदै भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले भने, “व्यवस्था फेरिएपनि अवस्था फेरिएन भन्नेहरुका लागि एकातिर विकासका गतिलाई तीव्रता दिनुछ भने अर्कोतर्फ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प छैन।”

राष्ट्रपति पौडेलले समृद्ध र समुन्नत म्याग्दे बनाउने योजनालाई जनप्रतिनिधि, कर्मचारी र गाउँवासीले सहकार्य गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

संवैधानिक व्यवस्थाअनुसार स्थापित गणतान्त्रिक नेपालको महत्वपूर्ण आधार संरचना स्थानीय तह भएकाले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ दृढ रहन उनले आग्रह गरे।

विगतमा सिहंदरबारमा केन्द्रिकृत शासन व्यवस्थालाई घरदैलोमा नै ल्याएर सेवा सुविधा दिने स्थानीय तह शासन प्रणालीको बलियो आधार भएको उनको भनाइ थियो। स्थानीय तहका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले भने,“देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस गाउँपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी सेवासुविधालाई सहज र प्रभावकारी बनाउन सुविधासम्पन्न प्रशासकीय भवन बनाएकामा म धन्यवाद भन्न चाहन्छु।”

उनले स्थानीय सरकार र जनप्रतिनिधि जति जनतामुखी, लोककल्याणकारी, जनउत्तरदायी भए त्यति स्थानीय जनताको आकांक्षा र आवश्यकता पूरा गर्न सक्षम हुने र त्यति नै हाम्रो शासन व्यवस्थाले परिकल्पना गरेको लक्ष्य साकार हुने बताउनुभयो। उहाँले कर्म गर्न र निराश नहुन आम नागरिकलाई अपिल गर्दै विस्तारै विकासका सम्भावनाहरूले देश प्रगतिको बाटोमा अघि बढिरहेकोमा विश्वस्त हुन आग्रह गरे। उनले भने, “हामीले कर्म गर्ने हो, निराश हुने होइन। नेपालमा विकासको अपार सम्भावना छ र हामी चारैतिरबाट विस्तारै विकासको बाटोमा अगाडि बढ्दैछौँ।”

राष्ट्रपति पौडेलले पर्याप्त र सक्षम जनशक्ति विकास गरी सेवालाई छिटो बनाउन गाउँपालिकाका सबै सरोकारवाला दत्तचित्त लाग्नेमा आफू विश्वस्त रहेको बताए। गाउँपालिकाका उर्वर भूमि, खोलानाला, पाखापखेराले यसको प्राकृतिक रमणीयलाई मुखरित गरेको बताउँदै गण्डकी प्रदेशको केन्द्र पर्यटकीय राजधानीको नजिकै रहेको म्याग्दे गाउँपालिकामा आउन पाउनु आफ्ना लागि अहोभाग्य ठानेको उनले उल्लेख गरे। अकला र किल्चोक जस्ता धार्मिक स्थलले यहाँको धार्मिक महिमा बढाएको उहाँको भनाइ थियो।

उनले बन्दै गरेको सेती जलाशय परियोजना, अबको योजनामा रहेको तल्लो सेती हाइड्रो, स्तरोन्नति हुँदै गरेको पृथ्वीराजमार्गलगायतका पूर्वाधारले विसतारै सबैतिरबाट सुविधा थपिदै गएको र गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याए।

Logo