तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन

तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन

केन्द्रबिन्दु
70
Shares

रुपन्देही । वैशाखको पहिलो साता नै भैरहवा आसपासको अधिकतम तापक्रम करिब ४४ डिग्री पुगेको छ। तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू) चल्दा जनजीवन कष्टकर बन्दै गएको छ। ठाउँठाउँमा आगलागी भइरहेका छन्। आगलागीले करोडौंको धनमाल नष्ट भएका छन्। गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन्। अस्पतालमा बिरामीको चाप बढेको छ।

शनिबार नेपालमै सबैभन्दा बढी गर्मी (४३ दशमलव ६ डिग्री) भैरहवामा मापन भएको छ। आइतबार ४० दशमलव ६ डिग्रीले केही कम गर्मीको महसुस गराए पनि आज फेरि गर्मीले प्रचण्ड रुप लिएको छ। आज भैरहवाको तापमान ४३ डिग्री पुगेको छ।

भैरहवामा अन्य ठाउँभन्दा बढी गर्मी हुन थालेपछि जनजीवन कष्टकर बनेको हो। रुपन्देहीलगायतका जिल्लामा गर्मी बढेपछि स्थानीयवासीको दैनिकीमा समस्या आएको छ। चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त छ। वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चलेपछि सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन्। अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ।

भीम अस्पताल भैरहवामा गर्मीका कारण बिरामी भई आउनेको चाप बढ्दो छ। सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने अस्पतालमा अहिले गर्मीकै कारण सात सयको हाराहारीमा बिरामी आएको भैरहवा भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले जानकारी दिए।

“चिसो मौसम हुँदा सरदर तीनदेखि चार सय बिरामीको सङ्ख्या हुन्थ्यो, अहिले छ देखि सात सय दैनिक पुगेको छ,” उनले भने, “धेरैमा पखाला र छालासम्बन्धी समस्या देखिएको छ।”

गर्मीसँगै पानी कम प्रयोग गर्दा हुने बिरामीको सङ्ख्या पनि बढेको उनले बताए। पिसाबको सङ्क्रमण, कडा ज्वरो, मिर्गौलामा पत्थरी भएका बिरामीमा तीव्र पेट दुख्ने समस्याका बिरामी अस्पताल आइरहेका छन्। अहिलेको वातावरणका कारण दम रोगका बिरामीलाई समस्या भएको उनले बताए।

Logo