राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्नुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको भएको आज ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उनले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि बढ्नुपर्छ भने। “नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ, सँगै स्थापना भएका अरू देशका कम्युनिष्ट पार्टीले किन के कति सफलता हासिल गरे र के कस्ता विफलता व्यहोर्नु पर्यो,” पूर्वराष्ट्रपति भण्डारीले भने, “नेपाली कम्युनिष्ट आन्दोलनमा पटकपटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकाङ्क्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्छ।”

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पचहत्तर वर्ष पुगेको ऐतिहासिक अवसर पारेर यो विशेष समारोह आयोजना गरेकोमा नेकपा (एमाले) लाई धन्यवाद दिँदै उहाँले यस कार्यक्रमको पूर्ण सफलताको कामना गरे। उनले भने “यस अवसरमा, म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदा आफ्नो जीवन उत्सर्ग गर्ने सबै ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु।”

विसं २००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले बितेका साढे सात दशकमा जहानियाँ राणा शासनको अन्त्य गर्न, निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था समाप्त पारी बहुदलीय व्यवस्था बहाली गर्न र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको उनको भनाइ थियो।

“नेपाली कम्युनिष्ट आन्दोलनले मुलुकको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान प्रवद्र्धन गर्न, देश प्रेमको भावना जागृत गर्न तथा राष्ट्रियताको संवद्र्धन गर्न महत्वपूर्ण दायित्व बहन गर्दै आएको छ,” उनले भने, “यसले जनताको जनजीविका, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सशक्त आवाज उठाएको छ र आफूले सरकार सञ्चालन गरेका बेला तथा संयुक्त सरकारमा सहभागी बनेका बेला राष्ट्र र जनताका जल्दाबल्दा यी विषयहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै आएको छ, यसबाट कम्युनिष्ट आन्दोलनप्रति नेपाली जनताको आशा र भरोसा बढेको छ।”

Logo