बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर

केन्द्रबिन्दु
42
Shares

बागलुङ । लुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो। सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो। त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन।

त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो। एक सातापछि उक्त आगो नियन्त्रणमा आयो। त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ। दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन्। आगलागीले वन्यजन्तु तितरवितर बनेका छन्।

आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन। करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ। फागुनदेखि हालसम्म ३८ वटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिए।

उनका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ। आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उनको भनाइ छ। अहिले १५ वटा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको केसीले जानकारी दिए। हालसम्म एक हजार दुई सय हेक्टरभन्दा बढी जङ्गलमा आगलागी भएको उनी बताउछन्।

अधिकारी केसीले भने, “नागरिकको लापरबाहीका कारण धेरै वनमा आगलागी भएको हो, आगलागी हुनबाट रोक्नका लागि हामीहरुले जनचेतनामूलक कार्यक्रम गर्ने र नागरिकलाई सचेत बनाउनका लागि विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिरहेका छौँ, वनमा आगो लगाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया पनि अगाडि बढाएका छौँ, आगोले ठूलो क्षेत्रफलमा फैलिएको वनमा क्षति पुर्याएको छ।”

चार दिनदेखि निसीखोला गाउँपालिका–२ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन। उपल्लोबेङ्ग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ। हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधी पौडेलले बताए।

Logo