हात्तीको भाइरल भिडियोको वास्तविकता भने अर्कै [भिडियाेसहित]

हात्तीको भाइरल भिडियोको वास्तविकता भने अर्कै [भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

काठमाडाैं । कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार दिउँसो नेपालको २ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए । तर, बेलुका सामाजिक सन्जालमा भाइरल बन्यो हात्ती एउटा टुलमा टेकेर ट्रकको ट्रलीमा उक्लिएको भिडियो । नेपालले कतारलाई उपहारस्वरुप दिन लागेको यही हो भनी अनेक टिप्पणी हुन थाले । कसैले त हात्तीलाई पनि नेपाली श्रमिक झैं खाडी पठाए भन्दै सरकारमाथि खनिए ।

तर, उक्त भाइरल भिडियोमा भने सत्यता नभएको पाइएको छ । जबकी कतार पठाउने भनिएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमै छन् । नेपालले कतारलाई उपहारस्वरुप दिन लागेका हात्ती खगेन्द्रप्रसाद र रुद्रकली हुन् । खगेन्द्रप्रसाद भाले हात्ती हो भने रुद्रकली पोथी हो । २०७६ असोज ८ गते कोशीकलीबाट खगेन्द्रप्रसाद र २०७५ असोज २३ गते आमा पूजाकलीबाट रुद्रकलीको जन्म भएको थियो । खगेन्द्रप्रसाद र रुद्रकलीको बाबु भने रोनाल्डो नामबाट चर्चित जंगली हात्ती हो ।

केही अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया पूरा गर्न बाँकी नै भएकाले ती हात्तीलाई कतार पठाउन केही दिन अझै लाग्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । दुर्लभ वन्यजन्यु तथा वनस्पतिको व्यापार महासन्धि साइटिस अनुसार त्यसको ओसारपसारका लागि सम्झौता र साइटिस अनुमति चाहिन्छ । तर हात्ती लेन–देन गर्नका लागि साइटिस अनुमतिपत्र आइसकेको छैन । सम्झौताका प्रक्रिया पूरा नभएकाले कतारका राजासँगै नेपालबाट हात्तीहरु नपठाएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालबाट हात्ती कहिले पठाउने भन्ने टुङ्गो लाग्न बाँकी नै छ ।

नेपालले मित्र राष्ट्रहरुलाई गैंडा, गोही, ब्याँसो र चितुवा उपहारमा दिए पनि हात्ती दिन लागेको भने पहिलोपटक हो । ती हात्ती कतारले दोहाको चिडियाखानामा राख्ने तयारी गरेको छ ।

Logo