गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि आज बिहान मृत्यु भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते ४७ वर्षीय रमेश पहरीको पनि उपचारको क्रममा आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको गोदावरी–४ का वडाअध्यक्ष सानुभाई नगरकोटिले जानकारी दिए।

उनका अनुसार पहरीको शव बर्न अस्वतालबाट पोस्मार्टमका लागि किस्ट अस्पताल लैजाने तयारी गरिएको छ। पोस्टमाटमपछि आजै पशुपतिमा अन्तिम संस्कार गरिने उल्लेख गर्दै वडाअध्यक्ष नगरकोटिले भने, ‘उहाँको अन्तिम संस्कार सकेपछि मृतकका परिवारलाई नगरपालिका र वडाकार्यालयको बैठक बसेर उचित राहतको व्यवस्था गर्छौ।’

गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडोललगायतका बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार मात्रै डढेलो निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएका थिए। शंकरको उपचारका क्रममा मंगलबार दिउँसो र रमेशको आज बिहान निधन भएको हो।

बनमा लागेको डढेलो नियन्त्रण बाहिर पुगेको छ। नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखेपनि सफल हुन सकेको छैन।

Logo