ताप्लेजुङ । ताप्लेजुङमा कार्य क्षेत्र बनाएर संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्च विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)बाट पुरस्कृत भएको छ। विश्व वन्यजन्तु कोषले काठमाडौँमा एक कार्यक्रम गर्दै हिमाली संरक्षण मञ्चलाई पुरस्कृत गरेको हो।
जैविक विविधताको संरक्षण क्षेत्रमा टेवा गरेको भन्दै कोषले मञ्चलाई अब्म्हाम सरक्षण पुरस्कार २०२४ बाट पुरस्कृत गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए। पुरस्कारले आगामी दिनमा संरक्षण क्षेत्रमा काम गर्ने थप ऊर्जा प्राप्त भएको उनले बताए। मञ्च सन् २०२० मा पन्छी संरक्षण कोषबाट समेत पुरस्कृत भएको थियो।
मञ्चले मुख्य गरेर दुर्लभ हाब्रे (रेड पाण्डा)को संरक्षणमा २०६२ सालदेखि काम गर्दै आएको छ।संरक्षणसँगै पर्यापर्यटन प्रवद्र्धन तथा स्थानीय समुदायको आयआर्जनमा समेत सहयोग गर्दै आएको छ।
सचिव विवस केदेमले मञ्चले विभिन्न संस्थासँग साझेदार गरेर विश्व दुर्लभ वन्यजन्तु हिउँ चितुवा संरक्षणमा समेत काम गर्दै आएको बताए। विद्यलय तहबाटै हिउँ चितुवा संरक्षणमा जनचेतना बढाउन कक्षा ७ र ८ मा पठनपाठन समेत सुरु गरिएको मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बाले बताए।
मञ्चले जैविक विविधताको अध्ययनका लागि रु चार करोड लागतमा फुङ्लिङ नगरपालिका–९ देउराली क्षेत्रमा हाब्रे सेन्टर स्थापना गरेको छ।





























प्रतिक्रिया