कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया सर्वोच्च अदालत पुगेका छन् ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले मंगलबार नागरिकता विवादमा उनीविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका थिए। त्यसपछि आफूलाई पक्राउ अनुमति दिने अदालतको अनुमति खारेज हुनुपर्ने माग राख्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।
उनले निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् । रिट निवेदन अदालतमा पेश भए पनि दर्ता भइसकेको छैन ।
सिरोहियाको नागरिकताबारे केही सञ्चारमाध्यममा समाचार आएका थिए । उनले सञ्चालन गर्दै आएका कम्पनीपिच्छे अलग अलग नागरिकता नम्बर प्रयोग गरेको भन्दै समाचार प्रकाशन भएपछि धनुषा प्रहरीले अनुसन्धान थालेको थियो । सिरोहियाका बाबु घासीराम माडवारी अंगीकृत नागरिक भए पनि सिरोहियाले भने वंशजको नागरिकता प्रमाण नै सार्वजनिक भएका थिए । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष समेत रहेका कैलाश सिरोहियाले नागरिकताको विषयमा जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जीलाई संस्थासँग जोडेका छन् ।
कान्तिपुर दैनिकले सहकारीको रकम अपचलन आरोपमा उपप्रधान एवं गृहमन्त्री रवि लामछिानेलाई छानबिनको दायरामा ल्याउन दबाब पुग्नेगरि लगातार समाचार प्रकाशित गर्दै आएको छ । पक्राउ पुर्जी जारी हुनुलाई समाचार रोक्ने नियत रहेको सिरोहियाको ठहर छ ।































प्रतिक्रिया