ललितपुर । ललितपुर महानगरपालिकाले हालसम्म तीनसय मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी तालिम दिएको छ। आइतबारदेखि अर्को चरणको तालिम सुरु भएको छ। महानगरपालिकाले विभिन्न चरणमा तालिम र आधारभूत सीप प्रदान गरी मेलमिलापकर्ताहरु तयार गरेको हो।
यसपटक दुई समूहमा गरी ५४ जना सहभागी छन्। आठ दिनसम्म चल्ने यो तालिम चालु आर्थिक वर्षको अन्तिम तालिम हो। तालिमको उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
मुख्य न्यायाधीश निरौलाले विवादरहित समाजको कल्पना गर्न नसकिने भन्दै विवाद समाधानको उपाय हुने बताए। पछिल्लो समयमा मेलमिलाप गराएर विवाद समाधान गर्न थालिएको बताए। उनले भने, ‘विवाद समाधान गर्ने न्यायिक प्रक्रियाद्वारा हो भन्ने थियो, अहिले समुदायमा आधारित भएर विवाद समाधान गर्न थालिएको छ।’
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विवाद समाधान गर्न हाम्रा पुर्खाले वर्षौदेखि मेलमिलाप गराउने गरेको बताउँदै व्यवस्थित र संस्थागत गर्न मेलमिलाप केन्द्र स्थापना र मेलमिलापकर्ता तयार पार्न तालिम दिइएको बताइन्।
मेलमिलाप गराउँदा दुबै पक्षलाई जितको महसुस हुने बताउँदै सम्बन्ध सुधारका लागि पनि मेलमिलाप अत्यावश्यक भएको बताइन्। उनले भनिन्, ‘विवादले खर्च, स्वास्थ्य र सम्बन्धलाई समेत सखाप पार्छ, त्यसैले विवादलाई जहाँ उत्पन्न भयो त्यहाँ नै समाधान गर्नुपर्छ।’ विवाद बढ्दै जाँदा त्यसले अपराधिक मानसिकता बढ्ने उनले बताइन्। उनले मेलमिलापकर्ताको व्यवस्था घर घरमा हुनुपर्ने धारणा राखिन्।
महानगरपालिकाकाले १५ वटा वडामा मेलमिलाप केन्द्र निर्माण भइसकेको छ भने सेवाग्राहीले ती केन्द्रमा सूचीकृत मेलमिलापकर्तामध्ये आफूले चाहेका मेलमिलापकर्तालाई छानेर न्यायिक सेवा लिने गरेका छन्।





























प्रतिक्रिया