सीप मेला अवलोकन गर्दै श्रीलंकाका राजदूतले भने: हामीबीच समानता छ

सीप मेला अवलोकन गर्दै श्रीलंकाका राजदूतले भने: हामीबीच समानता छ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । ‘औपचारिक शिक्षा नपाएका व्यक्तिले सीपमुलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन्। यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीपमूलक तालिमको धेरै महत्व छ,’नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पथिरानाले भने, ‘योग्यता परीक्षण प्रणालीबाट सीपलाई प्रमाणिकरण गर्न सकिन्छ। श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ।’

अवलोकनका क्रममा उनले औपचारिक शैक्षिक योग्यता नभएका मानवीय स्रोतलाई आर्थिक क्षेत्रसँग जोड्न महानगरपालिकाले गरेको काम प्रशंसनीय रहेको उल्लेख गरे।

निःशुल्क तालिम प्रदान गर्नु अझ महत्वपूर्ण काम हो। नेपाल र श्रीलंकाका बिचमा धेरै समानता छन्। समान प्रकृतिका यस्ता कार्यक्रम सँगै सञ्चालन गर्न सकिने राजदूत पथिरानाले भनाइ राखे।

त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, जनअपेक्षा धेरै भएकाले ती अपेक्षाहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिरहेको बताए। सीप मेलामा व्यवसायिक तालिम दिने कार्यक्रम पनि यसैको एउटा भाग हो। उनको भनाइ थियो।

तालिमका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, तालिमका विषय छनोटका बारेमा जानकारी गराउँदै मोवाइल बनाउने तालिमलाई उदाहरण दिए। ‘पहिले सिम कार्ड मात्र चल्ने मोवाइल बनाउनेले अहिलेका प्रविधियुक्त मोवाइल बनाउन थप तालिम लिनुपर्छ। हामीले यस्ता परिवर्तित अवस्थालाई हेरेर कोर्ष डिजाइन गरेका छौं,’ उनले भने।

व्यवसायिक तालिमको योग्यता निर्धारण गर्ने क्रममा श्रीलंकाको सिकाइबाट सिक्न सकिने महानगरपालिकाका अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीले बताए। मानवीय स्रोत व्यवस्थापन गर्ने दिशामा सहकार्य गर्न राजदूतले इच्छा राख्नुभएको उनले जानकारी दिए।

सीप मेलाका तालिम संयोजक देवेन्द्र केसीका अनुसार श्रीलंकाले राष्ट्रिय सीप परीक्षण प्रणालीलाई राम्ररी कार्यान्वयन गरेको र महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिरहेको शिक्षामा सीप कार्यक्रम र सिपयुक्त जनशक्तिको योग्यता परीक्षण यही मोडेलमा अगाडि बढाउने योजना रहेको सुनाए।

Logo