घरेलु मदिरा नष्ट अभियानमा रौतहट प्रहरी, भट्टीहरू तोडफोड

घरेलु मदिरा नष्ट अभियानमा रौतहट प्रहरी, भट्टीहरू तोडफोड

केन्द्रबिन्दु
42
Shares

रौतहट । रौतहट प्रहरीले अवैध रुपमा विभिन्न स्थानमा उत्पादनहुँदै आएको घरेलु मदिरा तथा भट्टीहरु नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा तथा भट्टीहरु नष्ट गरेको हो।

गौर नगरपालिका ५ स्थितमा बस्ने सुशील श्रेष्ठले अवैध रुपमा संचालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ। अवैध रुपमा संचालन गरेको मदिरा भट्टीबाट तयारी मदिरा १५ लिटर, कच्चा पदार्थ दुईसय लिटर घरेलु मदिरा प्रहरी गस्ती टोलीले बरामद गरेको हो।

भट्टीबाट मदिरा बनाउन प्रयोग गरिने ग्यास एकवटा, ग्यास चुलो एकवटा र भाडाबर्तन ३१ वटा समेत नियन्त्रणमा लिएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीय सामाजिक अगुवाहरुको रोहवरमा नष्ट गरिएको छ। त्यस क्षेत्रमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुदै आएको सूचनाका आधारमा प्रहरीले भट्टीहरु नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरिक्षक एलिजा गिरीका अनुसार प्राय घरेलु मदिराका कारण गाँउ घरमा झै झगडाका घटना हुने गरेकाले मदिरा र भट्टीहरु नष्ट गर्ने अभियानमा प्रहरी सक्रिय भएको हो।

भारतीय भूमीमा मदिरा बिक्री वितरणमै रोक लगाइएकाले भारतीय नागरिक नेपालतर्फ खुलेका अवैध भट्टीमा मदिरा पिउन आउने गर्छन। जसका कारण समाजिक अपराधका घटना बढेको प्रहरीको बुझाई छ।

घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाई छ।

गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न रौतहट प्रहरीले अनुरोध गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालयमा सूचना प्राप्त हुने बित्तिकै त्यहाँ प्रहरी पुगेर धमाधम भट्टी पसल भत्काउने काम गदै आएको उल्लेख गरेको छ।

जिल्लाभर रहेका अस्थायी प्रहरी चौकी, प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट खटिएर प्रहरीले अवैध घरेलु मदिरा बरामद गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Logo