काठमाडौं । प्रतिनिधि सभाका पूर्व सभामुख, नेपाल पत्रकार महासंघका पूर्व सभापतिहरु र वरिष्ठ पत्रकारहरुले नेपाली पत्रकारिताको प्रभाव र विश्वसनियता कमजोर हुँदै गएको औँल्याएका छन्। राजनीति र अन्य स्वार्थ समूहको प्रभावबाट अलग रहेर कलम नचलाए पत्रकारिताको साख र विश्वसनियता जोगाउन नसकिने उनीहरुको तर्क थियो।
पूर्व सभामुख दमननाथ ढुंगानाले पत्रकारिताले निर्भय भएर कलम चलाउन आवश्यक भएको बताए। पत्रकारिता कमजोर भएमा देशका सबै क्षेत्रमा मनपरीतन्त्र हावी हुने ढुंगानाको भनाई छ।
वरिष्ठ पत्रकार किशोर नेपालको जन्मदिवसका अवसरमा आयोजित शुभकामना सभामा पूर्व सभामुख ढुंगानाले पत्रकार नेपालले जस्तोसुकै कठिन परिस्थितिमा पनि कलम नबिसाएको भनेर उनको योगदानको चर्चा गरे।
नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरहीले पञ्चायतकालको कठिन परिस्थितिमा पत्रकारिताले नै लोकतन्त्रको र स्वतन्त्रतापक्षधर विचारको जगेर्ना गरेको चर्चा गर्दै पत्रकार नेपालको त्यसबेलादेखि आजसम्मको अविश्रान्त क्रियाशीलताको प्रशंसा गरेका थिए।
वरिष्ठ पत्रकार पी खरेलले फरक विचार पक्षधर भएपनि पत्रकार नेपालको प्रतिभा र क्रियाशीलता नेपाली पत्रकारिताको गर्वको बिषय भएको बताए।
पत्रकार नेपालसँग केही समय पत्रकारिता गरेका प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहालले भाषा, शैली र सम्पादन कला आफूले उनीबाट सिकेको स्मरण गरेका थिए।
पत्रकार नेपालसँग देशान्तर साप्ताहिकमा काम गरेको अनुभव सुनाउँदै पूर्व मन्त्री जयप्रकाश गुप्ताले आफ्ना रिपोर्टिङका कारण पत्रकार नेपालले कैयौं पटक मुद्दा खेप्नुपरेको चर्चा गरे।
पत्रकार नेपालसँग देशान्तर साप्ताहिक र अन्य विभिन्न सञ्चारमाध्यममा काम गरेका, पत्रकारिता सिकेका पत्रकारहरुले उनको जन्मदिवसमा अनौपचारिक सभा गरेर बधाई र शुभकामना अर्पण गर्ने गरेका छन्। बिहीवार काठमाडौंमा त्यसकै निरन्तरता शुभकामना सभा आयोजना गरिएको थियो। त्यही कार्यक्रममा सहभागी हुन सप्तरीबाट जयप्रकाश गुप्ता र विराटनगरबाट अनन्तराज न्यौपाने आएका थिए भने देशका विभिन्न जिल्ला र विदेशबाट पनि पत्रकार नेपाललाई बधाई र शुभकामना दिईएको थियो।
पत्रकार नेपालका निबन्ध, पत्रकारिताको इतिहास र संस्मरण पुस्तक प्रकाशित छन्।





























प्रतिक्रिया