काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा दुवई पुर्याई मानव बेचविखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ।
विषेश सुराकीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी कमाण्डको टोलीले महर्जनलाई गौशालाबाट पक्राउ गरेको हो।
पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा दुवईबाट गत चैत्र १९ गते उद्धार गरे पश्चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाईदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिई गत फागुन ७ गते दुवई पुर्याई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगेर बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिई बिना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाएर चरम श्रम शोषण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।
उनलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





























प्रतिक्रिया