बालेनको गीत गाउँदा कर्मचारीको सरुवाः के भन्छ पोखरा महानगरपालिका ?

बालेनको गीत गाउँदा कर्मचारीको सरुवाः के भन्छ पोखरा महानगरपालिका ?

केन्द्रबिन्दु
1k
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसामा गीत गाएपछि पोखरा महानगरपालिकाकी एक कर्मचारीको आन्तरिक सरुवा भएको विषय अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखामा कार्यरत सातौँ तहकी चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरुवा गरिएको दाबी गरेकी थिइन् ।

तीन महिनाअघि मात्रै वडा नम्बर ३ बाट महानगरमा आएकी चन्द्रावतीलाई केही दिनअघि पोखराको २३ नं वडामा सरुवा गरिएको हो । करिब ५ वर्ष वडा नम्बर ३ मा बसेर आएकी वाग्लेलाई तीन महिनामै तुलनात्मक रूपमा दुर्गम मानिने वडा पठाइएको छ ।

तर गीत गाएका कारण कर्मचारीको सरुवा भएको आरोप लागेपछि पोखरा महानगरपालिकाले भने यसबारे प्रष्टीकरण दिएको छ । महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले आइतबार जारी गरेको विज्ञप्तिमा कुनै पनि कार्यालयले आफ्नो कामको क्षेत्रलाई प्रभावकारी तथा व्यवस्थित गर्न कर्मचारी सरुवा गर्नु नियमित प्रक्रिया भएकाले आर्थिक वर्ष २०८१।०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले ४२ जना कर्मचारीहरूको पहिलो चरणको आन्तरिक सरुवा गरेको स्पष्ट पारेका छन् ।

‘यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरू माथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ ।’

Logo