काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट बञ्चरेडाँडाको निगरानी अब सीसीटीभी क्यामराबाट हुने भएको छ । सेनेटरी ल्याण्डफिल साइटको फोहर व्यवस्थापन हुने गरेको संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन काठमाडौँ महानगरले काठमाडौँ प्लाजामा सीसीटीभी क्यामरा जडान गरेको हो ।
साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो । स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरिएको महानगरले बताएको छ ।
क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ । साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा बुुथ देखिने गरी क्यामरा राखिएका छन् । महानगरले ९ वटा क्यामराका दृश्यबाट साइटको निगरानी गरिने जनाएको छ ।
पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपीआर) क्यामरा हुन् । यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ ।
धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ मा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौँ महानगरपालिकासहित उपत्यका आसपासका २१ वटा स्थानीय तहले फोहोर विसर्जन गर्दै आएका छन् । भक्तपुर नगरपालिकामात्रैको फोहोर बञ्चरेडाँडा जाँदैन ।
बञ्चरेडाँडा ल्यान्डफिल साइट व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरपालिकाले गर्दै आएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनको कार्यविधि पनि बनेको छ । काठमाडौँ उपत्यकामा हुने फोहोर उत्सर्जनको दिगो व्यवस्थापनको लागि नुवाकोटको ककनी– २ र धादिङको धुनीबेंसी नगरपालिका वडा नम्बर १ कोल्पु खोला बन्चरेडाँडाको फेदीमा खोला डाइभर्सन गरी ल्यान्डफिल साइट बनाइएको छ।
ल्यान्डफिल साइट ३१ हजार वर्गमिटर क्षेत्रफल फैलिएको छ। मिश्रित फोहोर राखे ल्यान्डफिल साइटको आयु २० वर्ष र वर्गीकृत फोहोर विसर्जन गरे ४० वर्षसम्म धान्ने अनुमान गरिएको छ। ल्यान्डफिल साइटसँगै २० हजार घनमिटर क्षमताको लिचेट पोखरी रहेको छ।
प्रतिक्रिया