अब सिनेमा हलका क्याफेहरुले एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाउने

अब सिनेमा हलका क्याफेहरुले एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाउने

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । अब सिनेमा हलभित्र रहेका क्याफेमा प्रशोधित बोतलको पानी र अन्य प्याकेजिङ गरेका खाने कुराहरुमा अधिकतम खुद्रा मूल्य एमआरपीभन्दा बढी मूल्य लिनेलाई कारबाही हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल चलचित्र सङ्घका पदाधिकारीसँग छलफल गर्दै सिनेमा हल परिसरमा बिक्री गर्न राखिएका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिन नपाइने जानकारी गराएको हो । यदि त्यसरी बढी मूल्य लिएमा कानुन अनुसार कारबाही हुने चेतावनी पनि दिएको छ । सिनेमा हेर्न जानेलाई बाहिरबाट पानी र खानेकुरा लग्न नपाइने र भित्र किन्दा बाहिर पर्ने मूल्यभन्दा दोब्बरभन्दा बढी हुने गरेको गुनासोका आधारमा विभागले यस्तो कदम चालेको हो ।

विभागका प्रवक्तासमेत रहेका अनुगमन शाखाका निर्देशक डिकबहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै अबदेखि सिनेमा हल सञ्चालकले प्याकेजिङ गरेका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिन नपाइने गरी नेपाल चलचित्र सङ्घमातहतका हललाई पत्राचार गर्न लिखित निर्देशन दिएका छन् । यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अधिकतम खुद्रा बिक्री मूल्यमा उपलब्ध गराउने सहमति भए वमोजिम अव उप्रान्त कुनै पनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा निकी गर्नुहुन अनुरोध गरिन्छ । अन्यथा प्रचलित कानून वमोजिम कारवाही भइ जाने छ ।’

विभागका अनुसार अब सिनेमा हलहरुमा गएर मूल्यका विषयमा छड्के अनुगमन हुन्छ, कार्यान्वयन नभएमा कानुन अनुसार कारबाही हुन्छ । कानुन अनुसार बढी मूल्य लिनेलाई तीन लाख रुपियाँसम्म जरिबाना र एक वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

Logo