धरौटी बुझाए पनि तत्काल किन छुट्ने छैनन् रवि लामिछाने ?

धरौटी बुझाए पनि तत्काल किन छुट्ने छैनन् रवि लामिछाने ?

केन्द्रबिन्दु
402
Shares

काठमाडौं । करिब तीन महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । धरौटी रकम बुझाउन सके उनी आजै रिहा हुन सक्छन् ।

लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए भने हाल कास्की प्रहरीको हिरासतमा छन् । अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् । राजनीतिमा आउनुअघि टेलिभिजनकर्मी रहेका लामिछाने गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक थिए ।

न्यायालयले व्यक्तिलाई लागेको अभियोगको गम्भीरता, त्यसमा प्रमाणको भारका आधारमा आदेश गर्नेछ । यसलाई लामिछानेलाई लागेको आरोप गम्भीर भएको, त्यसमा तत्काल प्राप्त प्रमाणले उनलाई दोषी देखाउने आधार प्रदान गरेको र थुन्न प्रमाण नपुगेपछि उनलाई धरौटीमा रिहा हुने आदेश भएको बुझ्न सकिन्छ । जानकारहरुका अनुसार यो थुनछेक आदेश मात्र हो । मुद्दा टुङ्गिएको होइन। अदालतले अब मुद्दा अघि बढाउँदा प्रमाण बुझ्ने तथा साक्षीहरूको बकपत्र गर्नेछ । यो थुनछेक आदेशमा चित्त नबुझे प्रतिवादी उच्च अदालतमा पुनरावेदन जान सक्ने अवस्था पनि रहन्छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको थियो । कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । रवि गोर्खा मिडियाका सेयर हिस्सेदार तथा प्रबन्ध निर्देशक थिए । उनीविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको थियो । त्यसैगरी, सम्पति सुद्धीकरणमा लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७०० रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको थियो ।

यता सामाजिक संजालमा हेर्दा, विगत ८३ दिनदेखि हिरासतमा रहेका लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिए लगत्तै रास्वपा नेताहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् र अदालत परिसर बाहिर रास्वपा कार्यकर्ता र समर्थकहरूले खुसीयाली मनाएका छन्।

तर, अन्य सहकारीको रकम अपचलनको आरोप संगै मुद्दा खेपीरहेका लामिछानेले ६५ लाख धरौटिमै उन्मुक्ति पाउलान् त भन्ने प्रश्न पनि उठ्न थालिसकेको छ । किनभने, विभिन्न सहकारीबाट “अवैधानिक“ रूपमा गोर्खा मिडियामा पुगेको बचत रकम खर्च गर्ने क्रममा प्रबन्ध निर्देशकका हैसियतमा लामिछानेको पनि संलग्नता देखिएको आरोपमा उनीविरुद्ध अन्य जिल्लामा पनि अनुसन्धान भइरहेको छ ।

अब लामिछानेले कास्कीमा धरौटी बुझाएलगत्तै प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । काठमाडौं प्रहरीले कास्कीको प्रक्रिया पूरा हुनासाथ हस्तान्तरण गर्न भन्दै पत्र लेखेकाले कास्कीमा धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं ल्याइनेछ ।

किनकी काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता गरेको छ । अभियोग लागेको व्यक्ति बाहिर भए पनि पक्राउ पुर्जी जारी हुन्छ । थुनामै रहेको व्यक्ति कारागार मार्फत् पठाइन्छ र धरौटी वा जमानतमा रिहा भएको व्यक्तिलाई बाटोको म्याद मात्रै लिएर माग भएको स्थानमा पठाइन्छ ।

त्यसकारण लामिछाने पोखराबाट धरौटीमा रिहा भए पनि पुनः पक्राउ पर्ने अवस्था छ ।

लामिछानेलाई विपक्षी बनाएर काठमाडौंमा मुद्दा दर्ता भइसके पनि चितवन, पर्सा र रूपन्देहीमा पनि उनीविरुद्ध दर्ता भएको उजुरीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसकारण लामिछाने एउटा अदालतबाट रिहा भए पनि अर्को जिल्लाको अदालतको आदेशमा पक्राउ पर्ने सम्भावना उत्तिकै रहेको छ । किनकी सबै स्थानमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

Logo