काठमाडौं । समर्थगुरू साधना केन्द्र, बुद्धनगरले शुक्रबार (माघ २५) देखि २७ गतेसम्म तीन दिने ध्यान योग शिविरको आयोजना गरेको छ ।
समर्थगुरू धाराको विकसित रूप अन्तर्गत बुद्धनगरस्थित ध्यान योग केन्द्रमा सञ्चालन हुने यो शिविरले सहभागीहरूलाई जीवनमा शान्ति, आनन्द र सकारात्मकताको अनुभव गराउने लक्ष्य राखेको छ । समर्थगुरू धारा ओशोको सनातनी जीवन्त गुरुशिष्य परम्पराको निरन्तरता हो, जहाँ अध्यात्म, संस्कृति, योग, विज्ञान, ध्यान, र जीवनका सबै आयामहरूको शिक्षा प्रदान गरिन्छ । ध्यान योग आत्मबोध र त्यो भन्दा पनि उच्च २८ तहका कार्यक्रमहरूको श्रृंखलाको पहिलो चरण हो ।
समर्थगुरू संघ नेपालकी राष्ट्रिय संयोजक मञ्जु शर्माले शिविरको उद्देश्यबारे जानकारी दिँदै भनिन्, ‘आजको व्यस्त जीवनशैलीमा मानिसहरु तनाव र चिन्ताले ग्रस्त छन्। यो शिविरले उनीहरुलाई ध्यान र योगको माध्यमबाट आन्तरिक शान्ति प्राप्त गर्न र जीवनलाई सन्तुलित बनाउन मद्दत गर्नेछ।’

यस ध्यान योगबाट तनाव र चिन्ताबाट मुक्ति, स्वस्थ जीवनशैली र सकारात्मक सोचको विकास, आत्मज्ञान र आत्मविश्वासमा वृद्धि, समाधि र प्रज्ञाको गहिरो अनुभव लिन सकिनेछ । साथै सहभागीहरूले नकारात्मक सोचलाई सकारात्मकतामा बदल्ने, खुशी र सफल जीवन जिउने कला सिक्ने अवसर पाउनेछन्। उनीहरुले समर्थगुरुबाट ओमकारको दीक्षा समेत ग्रहण गर्न सक्नेछन्।
आयोजकका अनुसार ध्यान योग शिविरमा खाजा र भोजनको समेत व्यवस्था मिलाइएको छ । इच्छुक व्यक्तिहरुले आफ्नो नाम दर्ता गरी ध्यान योग शिविरमा सहभागी हुन सक्नेछन् । समर्थगुरु स्वयं उपस्थित भई दीक्षा दिने कार्यक्रम पनि छ ।

यो कार्यक्रम बुद्धनगरसहित भक्तपुर तथा मंगलपुरमा पनि सञ्चालन हुनेछ ।
समर्थगुरू साधना केन्द्र, बुद्धनगरले यसअघि पनि विभिन्न समयमा ध्यान योग शिविर आयोजना गर्दै आएको छ । जनवरीमा टिकापुरमा तीन दिने ध्यान योग शिविरको आयोजना भएको थियो, जहाँ ५० जना बढीको सहभागीता रहेको थियो । यसैगरी फरेष्टगार्ड तथा फरेष्टरलाई ५ दिन योग तथा ध्यान, ठूला पोखरा अर्घाखाँची सम्पर्क समाजका १५० जना बढीलाई बर्म्हनाद ध्यान गराइएको थियो ।
व्यस्त जीवनशैलीमा ध्यानलाई स्थान दिनका लागि समर्थगुरू संघ नेपालका केन्द्रहरुले जागरण फैल्याउने काम व्यापक रुपमा गरिरहेका छन् ।































प्रतिक्रिया