लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ई को तेश्रो वार्षिक अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा गुप्ता

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ई को तेश्रो वार्षिक अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा गुप्ता

केन्द्रबिन्दु
150
Shares

काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ई को तेश्रो वार्षिक अधिवेशन काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले लायन वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व पनि चयन गरेको छ।

अधिवेशनबाट डिष्ट्रिक गभर्नरमा लायन हिरा प्रसाद गुप्ता निर्वाचित भएका छन् भने प्रथम भाईस डिष्ट्रिक गभर्नरमा लायन श्याम कुमार यादव र द्वितीय भाईस डिष्ट्रिक गभर्नरमा लायन बिमल कुमार श्रेष्ठ चयन भएका छन्।

सम्पन्न अधिवेशनमा वर्तमान डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतले आफ्नो कार्यकालमा भएका विभिन्न गतिविधि र उपलब्धिहरूको विस्तृत जानकारी गराए। उनले डिस्ट्रिक्टका महत्वपूर्ण कार्यहरू सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण लायन सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्मानित पनि गरे।

लायन्स अन्तर्राष्ट्रीयका अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता र पूर्व निर्देशक लायन संजय खेतानको विशेष आतिथ्यता रहेको उक्त अधिवेशनमा करिब ५०० लायन सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रममा पूर्व राजदूत महेश दाहाल विशेष वक्ताको रूपमा सहभागी भएका थिए। अधिवेशनमा सेक्रेटरी लायन अमर बहादुर कुँवर र ट्रेजरर लायन प्रमोद घिमिरेले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीले डिस्ट्रिक्ट ३२५ ई नेपालमा मात्र नभई विश्वमै उत्कृष्ट डिस्ट्रिक्टको रूपमा स्थापित भएको बताए। उनले डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतको कुशल नेतृत्वमा सेवा, सदस्यता वृद्धि र योगदानको क्षेत्रमा डिष्ट्रिकले उत्कृष्ट कार्य गरेको प्रशंसा गरे।

डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतको अध्यक्षता र सेक्रेटरी लायन अमर कुँवरको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो। नयाँ नेतृत्वले आगामी वर्ष डिष्ट्रिकका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास गरिएको छ।

Logo