काठमाडौं । महेश्वरी समाज तथा महेश्वरी युवामञ्च काठमाडौंले महेश नवमी २०२५ को अवसरमा आयाेजना गरेकाे ३१औँ रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता अनुरूप आयोजित यो कार्यक्रम शनिबार काठमाडौंको नक्सालस्थित मञ्चको केन्द्रीय कार्यालय प्राङ्गणमा भएको हो।
कार्यक्रममा उल्लेख्य सङ्ख्यामा सहभागीहरूले रक्तदान गरेका थिए । सङ्कलित सम्पूर्ण रगत नेपाल रेडक्रस सोसाइटीमार्फत आवश्यक पर्ने व्यक्तिहरूको जीवन रक्षाका लागि प्रदान गरिने महेश्वरी युवामञ्च काठमाडौंका अध्यक्ष पंकज सारडाले बताए । उनले भने, “यो कार्यक्रमको मुख्य उद्देश्य रक्तदानमार्फत जीवन रक्षा गर्नु हो। हामी हरेक वर्ष आर्थिक रूपमा विपन्न वर्गलाई लत्ताकपडा, आर्थिक सहयोग र अन्य सामाजिक कार्यमा सक्रिय रहँदै आएका छौँ।”

महेश्वरी युवामञ्चले विगत ३१ वर्षदेखि निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त मञ्चले बालबालिकालाई लक्षित गर्दै फुटबल र क्रिकेट प्रतियोगिता, खेलकुद सामग्री वितरण, स्विमिङ, बहस प्रतियोगिता जस्ता रचनात्मक र प्रेरणादायी कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

“हाम्रो प्रयास समाजमा सकारात्मक प्रभाव पार्नु र युवाहरूलाई सामाजिक कार्यमा प्रोत्साहन गर्नु हो,” अध्यक्ष सारडाले थपे।
महेश्वरी समाज र युवामञ्चको यो पहलले सामाजिक एकता र मानवीय सेवाको सन्देश प्रवाह गरेको छ। आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने मञ्चको योजना छ।

































प्रतिक्रिया