काठमाडौं । समर्थगुरू “सिद्धार्थ औलिया” बाबाको उपस्थितिमा नेपालमा सम्पन्न भएको ८ दिने साधना यात्रा एक अविस्मरणीय आध्यात्मिक महोत्सव बनेको छ। यस कार्यक्रमले नेपाललाई पुनः एकपटक तपोभूमिको रूपमा स्थापित गरेको छ।
समर्थगुरू संघ नेपालद्वारा आयोजित यस साधना यात्राअन्तर्गत काठमाडौंमा ‘धर्म दृष्टि’ र ‘ध्यान योग’ तथा पोखरामा ‘सुरति योग’ र ‘प्रेम प्रज्ञा’ जस्ता महत्वपूर्ण साधनाहरू सम्पन्न भए । यी साधनाहरूले सहभागीहरूलाई प्रेम, मौनता, भक्ति र अन्तरदृष्टिको गहिरो अनुभव गराए। भारतका विभिन्न राज्यहरूबाट आएका साधकहरूको उल्लेख्य सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय साधना केन्द्रको रूपमा पहिचान दिलाएको छ ।
यस यात्राको मुख्य आकर्षण भनेको नेपालमा पहिलो पटक समर्थगुरू सिद्धार्थ औलियाले मुखारविन्दबाट गर्नुभएको ‘आनन्द उपनिषद्’ को रहस्योद्घाटन हो। आत्माको स्वरूप नै आनन्दमय छ भन्ने गहिरो ज्ञान र “तेरो मंगल, मेरो मंगल होस्” भन्ने गुरुको समर्पण भावले सम्पूर्ण वातावरणलाई आध्यात्मिक ऊर्जाले परिपूर्ण बनाएको थियो।
कार्यक्रममा सहभागी साधकहरूले हजारौं बुद्धहरूको आशीर्वाद महसुस गर्दै नेपालमा अध्यात्मको नयाँ किरण फैलिएको अनुभव गरेका छन्। ‘वसुधैव कुटुम्बकम्’ को भावनाले सबैलाई एकता र प्रेमको सूत्रमा बाँधेको थियो।
समग्र साधना यात्राको व्यवस्थापनमा सक्रिय समर्थगुरू संघ नेपालकी अध्यक्ष तथा राष्ट्रिय संयोजक मञ्जु शर्माले आगामी कार्यक्रमहरूको जानकारी गराइन् । उनले आउँदो भदौ महिना (अगस्ट) मा ‘मंगल प्रज्ञा’ र ‘निरति योग’ का विशेष कार्यक्रमहरू नेपालभरि आयोजना गरिने घोषणा गरेकी छन् । उनले यी आध्यात्मिक तरंगहरूमा सहभागी भई लाभ लिन सबै साधकहरूलाई आह्वान गरेकी हुन् ।
उनको कुशल नेतृत्वमा सम्पन्न यो ८ दिने साधना यात्रा केवल एक धार्मिक कार्यक्रम मात्र नभई, सहभागीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने एक महत्वपूर्ण अनुभव बनेको छ। यस ऐतिहासिक साधना यात्राले नेपाललाई आध्यात्मिक प्रकाशले आलोकित पार्दै विश्वभर मानवता, प्रेम र आत्मबोधको महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ।
यो साधना यात्रा नेपालका साधकहरूका लागि एक अविस्मरणीय आध्यात्मिक उत्सवको रूपमा सधैं स्मरण रहने बताइएकाे छ ।





























प्रतिक्रिया