दसैँ आयो, मन खुसी छैन, मनभरी पीडा लिएर कसरी दसैँ मनाउने ?

दसैँ आयो, मन खुसी छैन, मनभरी पीडा लिएर कसरी दसैँ मनाउने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । आज बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र बालुवा खोज्दै गरेको भेटिइन् । उनले सोमबार घटस्थापनाको दिन जमरा राखेर दशैँको प्रारम्भ गरेको सुनाइन् । पुजाको तयारी गरेकी उनले भनिन्, “दसैँ त आयो, तर, मन खुसी आएन ।”

गोमाले भनेजस्तै, नजिकिएको दसैँमा विगतको जस्तै उत्साह देखिएको छैन । एक साताअघिको जेनजी प्रदर्शनको गहिरो प्रभाव अझै धेरैको मनबाट हटेको छैन । कतिपय सहिद तथा घाइते परिवार त झन् शोकमै छन् ।उनले जेनजी प्रदर्शनमा ज्यान गुमाएका युवाहरूले न्याय पाउने आशासँगै देशमा शान्ति छाओस् भनी कामना गरेको सुनाइन् ।

दसैँमा प्रायः काठमाडौँ सुनसान हुन्छ । बाहिर बस्नेहरू घर जाने भएपछि काठमाडौँ खाली हुन्छ । त्यो खालिपनमा यहाँका स्थानीयहरू शान्त भएर बस्न पाउने बताउँछन् । तर, पाटनका भक्तमान श्रेष्ठ भने यसपालिको दसैँमा सडक गल्ली शान्त भएपनि मन शान्त नहुने बताउछन् ।

जेलबाट भागेका अपराधीहरू टोलभरि छन् । शान्त र सुरक्षित भएर कसरी दसैँ मनाउने ? उनको मनमा खड्किएको प्रश्न हो यो । उनी भन्छन्, “प्रहरी कार्यालय जलेका छन्, अपराधीहरू बाहिरै घुमेका छन् । पर्वमा चोरी डकैती बढ्ने डर छ नि ।” उनका अनुसार यस पालिको दसैँमा एकातिर देशका होनहार युवा गुमाउनु परेको पीडा छ भने अर्कोतिर राजनीतिक कारण निश्चिन्त भएर मनाउने अवस्था छैन ।

जेनजी प्रदर्शनमा स्वतःस्फूर्त होमिएकी थिइन, बानेश्वरकी भवानी निरौला । उनीसँगै आन्दोलनमा थुपै्र साथीहरू घाइते भएका छन् भने केहीले ज्यान गुमाए । “गोली लागेर साथी अस्पतालमा छ, दसैँमा कसरी खुसी हुन सकुँला र ?”, २० वर्षीया निरौलाले भनिन्।बानेश्वरकै फुटपाथ सस्तो बजारका व्यापारी विक्रम भट्टराईका अनुसार विगतमा जस्तो दसैँ किनमेलमा उत्साह छैन । एक साताअघि गोलीको बर्सा भएको अझै उनको कानमा गुन्जिन्छ ।

कोटेश्वर बस्ने टीका गौतम आज भृकुटीमण्डमा दसैँका लागि किनमेल गर्न पुगिन् । घरमा आवश्यक सामान र बालबालिकालाई लत्ताकपडा किनिन्। दसैँका लागि किनमेल गरिरहेकी उनले भनिन्, “केटाकेटीलाई खुसी पार्नु पर्यो, आफ्नो मनमा भने दसैँको उत्सव त्यति छैन ।”

मनोविद् गोविन्द ढकालका अनुसार चाडपर्वले आफन्तमाझ खुसियाली आदानप्रदान गर्छ । यसले समाजमा सामाजिक सद्भाव सिर्जना गर्नाका साथै वर्षभरिको तनाव पिरमर्कालाई पखालेर हलुको बनाउन मद्दत गर्छ । तर, यस वर्ष देशको स्थिति अनुकूल नहुँदा उत्सवमय बन्न नसकेको उनको भनाइ छ । असुरक्षित समाज, राजनीतिक अस्थिरताका कारण समाजमा चाडपर्वलाई उत्साहजनक बनाउन कठिनाइ भएको उनले बताए।

जेनजी आन्दोलनका क्रममा ७० भन्दा बढी यवाहरुको मृत्यु भएको, घाइतेहरू अस्पतालमा छट्पटाइरहेका, क्षतिको आँकलन गर्न सक्ने अवस्था नरहेको, सार्वजनिक संरचना ध्वस्त भएको, सवारी साधन जलेका तथा कैयौँ लुटेराहरू जेलबाट भागेको अवस्थामा यस वर्षको बडादशैँ खुसी र हर्षोल्लासका साथ मनाउने अवस्थामा नरहेका जेनजी पुस्ताका अगुवाहरू बताउँछन् । तर पनि आआफ्नो गच्छेअनुसार परापूर्वकालदेखि मानिआएको दसैँ पर्व मनाउनु पर्ने बाध्यता आम नेपालीहरुमा रहेको छ ।

Logo