‘बब एण्ड ज्याङ जेभियर एकेडेमी कन्जर्भेसन अवार्ड’ चितवनकी डोमा पौडेललाई

‘बब एण्ड ज्याङ जेभियर एकेडेमी कन्जर्भेसन अवार्ड’ चितवनकी डोमा पौडेललाई

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । वातावरण संरक्षणको क्षेत्रमा दशकौंदेखि सक्रिय अमेरिकी दम्पती बब डोबेज र ज्याङ डोबेज (बब एण्ड ज्याङ) तथा जेभियर एकेडेमीको संयुक्त आयोजनामा तेस्रो ‘बब एण्ड ज्याङ जेभियर एकेडेमी कन्जर्भेसन अवार्ड २०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित यो कार्यक्रममा विद्यार्थीहरू, अभिभावकहरू र वातावरणप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि बब र ज्याङ डोबेजले आफ्नो अनुभव साट्दै नेपालप्रतिको गहिरो लगाव व्यक्त गरेका थिए ।

‘नेपालीहरूबाट प्राप्त माया र सहयोगले हामीलाई प्रेरित गरेको छ’, बबले भने, ‘यो अवार्डमार्फत हामीले वातावरण संरक्षणमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै नेपालको हरियाली भविष्यमा योगदान पु-याउन चाहन्छौं ।’ उनीहरूको यो पहलले नेपालको पर्यावरणीय अभियानमा नयाँ ऊर्जा थपेको छ, विशेष गरी जब उनीहरूले नेपाली महिलाहरूको शिक्षामा पनि योगदान दिन ‘गल्र्स स्टुडेन्ट स्कलरसिप अवार्ड’ सुरु गरेको जानकारी दिए ।

यो छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तर जेहेन्दार छात्राहरूलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पु-याउनेछ ।

यस वर्षको बब एण्ड ज्याङ जेभियर एकेडेमी कन्जर्भेसन अवार्ड चितवनकी नेचर गाइड डोमा पौडेलले जितिन् । विगत दुई दशकदेखि प्रकृति संरक्षणमा समर्पित पौडेलले यो सम्मान जितेर इतिहास रचेकी छन्, किनकि उनी यो अवार्ड प्राप्त गर्ने उनी पहिलो महिला हुन् । अवार्डसँगै उनले एक लाख रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरिन् ।

अवार्ड ग्रहण गर्दै पौडेलले भनिन्, ‘प्रकृति संरक्षण पुरुषहरूको मात्र जिम्मेवारी होइन । महिलाहरू पनि यसमा उत्तिकै सक्षम छन् । यो अवार्डले मलाई प्रकृतिको संरक्षक, अभिभावक, शिक्षक र अधिवक्ताको रूपमा थप जिम्मेवार बनाएको छ ।’

पौडेलको यात्रा प्रेरणादायी छ, उनीले चराचुरुङ्गीदेखि वन्यजन्तुहरूको संरक्षणमा निरन्तर योगदान दिँदै आएकी छन्, जसले स्थानीय समुदायहरूलाई पर्यावरणीय जागरण फैलाउने काम गरेको छ ।

साे अवसरमा जेभियर एकेडेमीका अध्यक्ष प्रा.डा. श्रीरामभगत माथेले अवार्ड विजेता पौडेललाई बधाई दिँदै पहिलो महिला प्रकृती संरक्षक बन्नका लागि धेरै सामाजिक बन्धनहरु तोड्न सफल भएकामा धन्यबाद व्यक्त गरे । साथै उनले गर्ल्स स्कलरसिप मार्फत गरिब जेहेन्दार महिलाहरुलाई पढाउन पाउँदा महिलालाई मात्र नभएर परिवार र समाजलाई नै शिक्षित बनाउन सफल भएको पनि बताए ।

जेभियर एकेडेमीका पूर्वअध्यक्ष तथा बब एण्ड ज्याङ जेभियर एकेडेमी कन्जर्भेसन अवार्डका ज्यूरी प्रा.डा.प्रमोद श्रेष्ठले ९ वर्षअघि बब डोबेज र ज्याङ डोबेजसँग जोडिँदाको पलहरु सम्झिए । साथै उनले कसैले नदेखेको कसैलाई थाहा नभएको तर प्रकृतीको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा हर्षित भएको पनि बताए ।

बब एण्ड ज्याङ जेभियर एकेडेमी कन्जर्भेसन अवार्डको सुरुवात सन् २०२३ मा भएको थियो, जसको पहिलो संस्करण चितवनका विष्णु महतोले जितेका थिए । महतो, जो ५०० भन्दा बढी चराहरूको आवाज नक्कल गर्न सक्छन्, विगत १६ वर्षदेखि वातावरण संरक्षणमा सक्रिय छन् । दोस्रो संस्करणमा भने मनाङका हिउँचितुवा संरक्षक टासी राप्ती घले विजयी भएका थिए । उनले हिमाली क्षेत्रका दुर्लभ वन्यजन्तुहरूको संरक्षणमा उल्लेखनीय काम गरेका छन्, जसले जलवायु परिवर्तनको प्रभावबाट बचाउने प्रयासलाई बलियो बनाएको छ ।

बब र ज्याङ डोबेज दम्पतीको नेपालसँगको सम्बन्ध निकै गहिरो छ । अमेरिका र थाइल्यान्डमा बसोबास गर्ने यो दम्पती सन् १९७० मा पहिलो पटक नेपाल आएका थिए । नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरबाट प्रभावित हुँदै उनीहरूले सन् २०१७ मा छात्रवृत्ति कोष स्थापना गरेका थिए । यो कोषबाट हरेक वर्ष एक जना जेहेन्दार र निम्न वर्गका विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क शिक्षा प्राप्त गर्छन् । यदि दुई जना विद्यार्थीहरू उत्तिकै योग्य भएमा, उनीहरूलाई ५०–५० प्रतिशत छात्रवृत्ति प्रदान गरिन्छ, जसको बाँकी खर्च कलेजले व्यहोर्छ । यो नियमले न्यायोचित वितरण सुनिश्चित गर्छ र शिक्षा क्षेत्रमा समावेशितालाई प्रोत्साहन दिन्छ । दम्पतीको यो पहलले नेपालमा शिक्षा र वातावरण संरक्षणलाई जोडेर एकीकृत विकासको मोडेल प्रस्तुत गरेको छ ।

यो कार्यक्रमले नेपालको पर्यावरणीय चुनौतीहरूलाई सम्बोधन गर्दै युवा पुस्तालाई प्रेरित गरेको छ । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वन फँडानी जस्ता मुद्दाहरूमा सक्रियता बढाउँदै यो अवार्डले स्थानीय संरक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बनेको छ ।

Skip This
Skip This
Logo