यसरी गरिँदै छ पर्सामा छठपर्वकोे तयारी

यसरी गरिँदै छ पर्सामा छठपर्वकोे तयारी

केन्द्रबिन्दु
15
Shares

वीरगञ्ज। पर्सा जिल्लामा आसन्न छठपर्व नजिकिँदै गएपछि यहाँका पोखरी तथा नदी किनारामा विभिन्न प्रकारको सजावटसहितको सिँगारिने काम भइरहेको छ ।

छठपर्व नजिकिँदै गएपछि वीरगञ्जसहित पर्सा जिल्लामा अवस्थित विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रूपमा सिँगारिने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ ।मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।

प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या वृद्धि भइरहेकाले छठ पर्वका लागि आवश्यकपर्ने सामानको जोहो गर्न किनमेल गर्नेको भीड पनि विस्तारै देखिन थालेको छ ।वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष राकेश साह कानुले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी थालिसकेको जानकारी दिए।

“हामीले गत वर्षकोभन्दा पनि यसपालीको छठमा घडीअर्वा पोखरीमा छठको पण्डाल र झिलीमिली र झकिझकाउ सजावटले पनि धेरै दशनार्थीलाई आकर्षित गर्नेगरी काम थालिसकेका छौँ”, उनले भने, “यो वर्ष पनि विगतको वर्षमा जस्तै भव्य र सभ्य गरी छठ पर्व मनाइनेछ”, अध्यक्ष कानुले छठ पर्वको शृङ्गार तथा सजावटको अन्तिम काम भने तिहारपछि तीव्र गतिमा हुने बताए । “वीरगञ्जको घडीअर्वाको छठ पर्व हेर्नका लागि छिमेकी मुुलुक विहार राज्यका विभिन्न जिल्ला र नेपालका पनि विभिन्न सहरबाट सर्वसाधारण आउनुहुन्छ । त्यसैले पनि यसको रौनकता बढ्दै गइरहेको छ ।” उनले भने । घडीअर्वाको छठ पर्वमा मात्रै एक लाखभन्दा धेरैले दर्शनार्थीले हेर्ने आयोजकको दाबी छ । तराई–मधेसका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतिको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन् ।

यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कातिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ । “छठपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो”, उनले भने । “वीरगञ्जको घडीअर्वा पोखरीमा छठ पूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो । पण्डालमा जति धेरै आकर्षण ल्याउन सकिन्छ । त्यति नै सुन्दर र भव्य देखिनेछ ।” घडीअर्वाको छठ व्यवस्थापनका लागि करिब रु २२ लाख खर्च लाग्ने बताइएको छ । अध्यक्ष कानुले घडीअर्वा पोखरीमा छठको सजावट र डेकोरेसन हेर्नका लागि पनि मुलुकका विभिन्न ठाउँबाट आउने परम्परा जस्तै भइसकेको बताए।

Logo