जेन–जी आन्दोलनका क्षतिबारे काभ्रे प्रहरीको अनुसन्धान तीव्र, ११ जना पक्राउ

जेन–जी आन्दोलनका क्षतिबारे काभ्रे प्रहरीको अनुसन्धान तीव्र, ११ जना पक्राउ

केन्द्रबिन्दु
6
Shares

काभ्रेपलाञ्चोक । गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड एवं आगजनी घटनाको काभ्रे प्रहरीले उजुरीका आधारमा अनुसन्धान लाई तिव्रता दिएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलमा परेको छ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरेको हो।

कार्यालयले हालसम्म जुटेको प्रमाणका आधारमा थप अनुसन्धान गरी दोषीहरूलाई पक्राउ गर्नेसमेतको योजना बनाएको छ। इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक तथा कार्यालयका प्रवक्ता रवीन विष्टका अनुसार चाडबाडका कारण केही सुस्ताएको अनुसन्धानलाई अब तीव्रता दिइनेछ।

गत भदौ २४ गतेको ध्वंसात्मक घटनामा काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलमा गरिएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नको पहिचान गरी कारबाही गर्न पीडितहरूले सुरक्षा निकायमा जाहेरी दर्ता गराएका छन्। प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्‍याइएको थियो।

प्रदर्शनकारीले बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्वपूर्ण कागजात र केही सवारीसाधन पूर्णरुपमा क्षति पुगेको थियो। यस्तै, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, पाँचखाल र पनौतीका प्रहरी चौकीहरू लगायत प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको थियो। पनौती नगर, पाँचखाल नगर कार्यालय तथा सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमासमेत तोडफोड भएको थियो।

राजनीतिक दलका कार्यालयतर्फ, नेकपा एमाले काभ्रे र नेपाली कांग्रेसको बनेपास्थित कार्यालयमा तोडफोड गरी आगजनी हुँदा ठूलो क्षति पुगेको छ। यसैगरी, जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्व नगर प्रमुख भीमप्रसाद न्यौपानेलगायत जनप्रतिनिधि र व्यवसायीको घरमा लुटपाट, तोडफोड तथा आगजनी गरिएको थियो।

प्रहरीले जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५२ जना कैदीबन्दीलाई पक्राउ गरी जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ। तत्कालीन समयमा प्रहरीले बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित आठ जनालाई पक्राउ गरेको थियो। जेन–जी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौँमा ज्यान गुमाएका थिए।

Skip This
Skip This
Logo