सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय समाचार समिति (रासस)को संस्थागत एवम् पूर्वाधार विकासका लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाह र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच आज धनगढीमा भएको छलफलका क्रममा उनले सञ्चार संस्थाको सबलीकरणको नीतिअनुसार राससको विकासमा पनि सहयोग रहने बताएका हुन् ।
मुख्यमन्त्री शाहले धनगढीमा राससको प्रादेशिक कार्यालय भवन निर्माणका लागि विनियोजित गरिएको बजेट कार्यान्वयनका लागि छिट्टै बोलपत्रको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।
प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा धनगढीस्थित राससको जग्गामा नयाँ भवन निर्माण योजनाका लागि रु ७० लाख बजेट विनियोजन गरेको छ । उक्त भवन निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार पारी स्वीकृतसमेत गरिसकेको छ ।
मुख्यमन्त्री र अध्यक्ष झाबीच सुदूरपश्चिम प्रदेशको समग्र पत्रकारिताको विकासबारे छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष झाले सङ्घीयताको मर्मअनुसार प्रदेश सरकारसँग सहकार्य गरेर सरकारका गतिविधिमा सहयोग गर्न रासस तत्पर रहेको बताए । उनले जनचाहनाअनुरुप सेवा प्रवाह गर्नु सरकारको प्राथमिक विषय भएजस्तै समाचार र सूचनाको प्रवाह गरी त्यस कार्यमा सहयोग गर्नु आफूहरूको समेत दायित्व भएको धारणा राखे ।
कार्यकारी अध्यक्ष झाले प्रदेश सरकारकै सहयोगमा राससको नयाँ भवन निर्माणका लागि ‘डिपिआर’ बनिसकेकाले मुख्यमन्त्रीको प्रतिबद्धताअनुसार चाँडै काम अगाडि बढ्ने विश्वास गर्दै यस कार्यले प्रदेश सरकारसँगको सहकार्य थप बलियो हुने बताए।





























प्रतिक्रिया