काठमाडौं । सूचना प्रविधि नीति र डिजिटल सुशासनका अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात विशेषज्ञ तथा लर्न एसियाका संस्थापक अध्यक्ष प्रा. डा. रोहन समरजीवा डिजिटल राइट्स सम्मेलन २०२५ को उद्घाटन समारोहमा ‘की-नोट स्पीकर’को रूपमा नेपाल आउने भएका छन्।
डिजिटल फ्रिडम कोअलिसनको निमन्त्रणामा प्रा. डा. समरजीवाले नेपाल आउन स्वीकार गरेका हुन् । उनले सम्मेलनमा डिजिटल अधिकार र शासनसम्बन्धी क्षेत्रीय अवस्था र अवधारणा प्रस्तुत गर्नेछन् । डिजिटल फ्रिडम कोअलिसनले उहाँको आगमनप्रति खुसी व्यक्त गरेको छ।
“डिजिटल युगमा विश्वास निर्माणः नेपालको लचिलो डिजिटल भविष्यका लागि शासन, इमान्दारिता र समावेशिता” विषयवस्तुमाथि केन्द्रित यो महत्वपूर्ण सम्मेलन पुष १, २०८२ (डिसेम्बर १६, २०२५) मा काठमाडौंको होटल मल्लमा आयोजना हुनेछ।
प्रमुख अतिथिको रूपमा सर्वोच्च अदालत नेपालका माननीय न्यायाधीश डा. नहकुल सुवेदी र विशेष अतिथिको रूपमा नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय संयोजक सुश्री हनाअ सिंगर-हाम्दी लगायत विशिष्ट अतिथिहरू कार्यक्रममा उपस्थित हुनेछन्।
डिजिटल फ्रिडम कोअलिसनका संस्थापक अध्यक्ष बाबुराम अर्यालले भने, “हाम्रो सम्मेलनमा किनोट वक्ताको रूपमा प्रा. डा. समरजीवालाई स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौं। सूचना प्रविधि नीति, डिजिटल अधिकार र विद्युतीय सुशासन संरचनामा उहाँको गहिरो विशेषज्ञताले नेपालले आफ्नो डिजिटल रूपान्तरणलाई मौलिक स्वतन्त्रताको संरक्षण गर्दै अगाडि बढाउँदा अमूल्य अन्तरदृष्टि प्रदान गर्नेछ।”
डिजिटल राइट्स सम्मेलन २०२५ ले नेपालको डिजिटल इकोसिस्टमले सामना गरिरहेका महत्वपूर्ण चुनौतीहरूलाई चार छुट्टाछुट्टै सत्रहरूमार्फत सम्बोधन गर्नेछ। ती सत्रहरूमा डिजिटल सीमामा मानव अधिकारको संरक्षण, एल्गोरिदमिक पारदर्शिता र प्लेटफर्म शासन, नेपालको एआई नीति विकास र सूचना निष्पक्षता तथा डिजिटल साक्षरता विषयहरू समावेश छन् ।
यो सम्मेलनले समान डिजिटल भविष्य निर्माण गर्नका लागि नीति निर्माता, नागरिक समाज, शिक्षाविद् र सरोकारवालाहरूको बहुपक्षीय सहयोगको महत्वपूर्ण भूमिकामाथि जोड दिनेछ ।





























प्रतिक्रिया