काठमाडौं । दोस्रो विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्र संघले न्यूयोर्कस्थित मुख्यालयमा आयोजना गरेको कार्यक्रममा रमेश गुरुदेव र भानु गुरुदेवले ध्यान गराउँदै यसलाई अपनाउन विश्व समुदायलाई आह्वान गरेका छन् ।
विश्वव्यापी शान्ति र सद्भावको लागि ध्यान’ विषयक कार्यक्रममा नेपालका तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापक श्रद्धेय गुरुदेव एल पि भानु शर्माले आधुनिक विश्वका चुनौतीहरूको सामना गर्न प्रत्येक मानवको मन स्थिर हुनु पर्ने स्पष्ट पार्दै त्यसका लागि ध्यान गर्न आह्वान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउन थाल्नु वैश्विक चेतनाको ऐतिहासिक क्षण भएको बताउँदै गुरुदेवले परम्परागत कूटनीति र नीतिनिर्माणसँगै अब आन्तरिक जागरण, ध्यान र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको पूर्वाधारका रूपमा स्वीकार गरिएकोमा खुसी व्यक्त गरे ।
ध्यानको अभ्यासले मात्र विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेल्ने बताउँदै शर्माले मुख्य पाँचवटा सन्देश प्रस्तुत गरे ।

१. शान्ति र द्वन्द्व समाधानमा आन्तरिक रूपान्तरणको अपरिहार्यता
भानु गुरुदेव मन्तव्य राख्दै विज्ञान प्रविधिको प्रगति भन्दा मानिसको तनाव, वैमनस्यता र मानसिक अस्थिरता बढिरहेको तथ्य औल्याउँदै द्वन्द्व बाहिरी रूपमा देखिए पनि त्यसको मूल कारण मानवको अस्थिर मन भएको बताए । त्यसको लागि मानिसको मन स्थिर बनाउने प्रशिक्षण दिनु पर्ने बताउँदै ध्यानले मानिसको मन स्थिर बनाउने उनले स्पष्ट पारे ।
२. बुद्ध भूमि नेपालः पूर्वीय ज्ञान र आधुनिक विज्ञानको सेतुका रूपमा प्रस्तुत
नेपालले गौतम बुद्धको जन्मभूमिका रूपमा शान्ति, करुणा र आत्म–अनुशासनका अभ्यासहरूको दीगो परम्परा जोगाइरहेको उल्लेख गर्दै, यी अभ्यासहरू हार्वर्ड, स्ट्यानफोर्ड र अक्सफोर्ड जस्ता विश्वविद्यालयका अनुसन्धानहरूले वैज्ञानिक तवरले पुष्टि गरिरहेको बताए ।
३. ध्यानको प्रायोगिक रूपान्तरणमा जोड
मानिसमा अन्तर्निहित सूक्ष्मऊर्जारुपी चक्र योग, प्राणायाम र ध्यानमार्फत् सक्रिय गर्दै मानवीय चेतना जगाउने विज्ञान कल्पना नभई प्रमाणमा आधारित विज्ञान भएको तथ्य प्रस्तुत गरे । यसमा जीवन विज्ञान प्रतिष्ठानले प्राचीन आध्यात्मिक ज्ञानलाई आधुनिक अनुसन्धान, प्रशिक्षण र स्वास्थ्यको अभियानमा जोडिरहेको उल्लेख गरे ।
४. नेपालद्वारा विश्वलाई जागरणको आव्हान
एल पि भानु शर्माले नेपालका तर्फबाट विश्व समुदायलाई शरीर, मन र आन्तरिक ऊर्जाको समन्वयद्वारा स्पष्टता, करुणा र सचेत नेतृत्व विकास गर्न आव्हान गरे । उनले तनावभन्दा छिटो ज्ञान फैलाउन, उपलब्ध ध्यानको अभ्यासलाई डिजिटल प्रविधिको प्रयोग गर्दे विश्वभर पहुँचयोग्य बनाउन र निर्णय प्रक्रियामा सचेत नेतृत्व बढाउन जागरणको आह्वान गरे ।
५. मानसिक स्वास्थ्यलाई ‘वैश्विक पूर्वाधार’ का रूपमा विकास गर्न प्रस्ताव
मानसिक स्वास्थ्यलाई पूर्वाधारका रूपमा विकास गर्न निम्न बुदाँमा जोड दिए ।
- शिक्षामा ध्यान र सम्वेगात्मक बुद्धिमत्ता समावेश गर्नुपर्ने ।
- स्वास्थ्य क्षेत्रमा मानसिक ऊर्जा सन्तुलनको अभ्यास गर्नुपर्ने ।
- कूटनीतिक तथा कार्यकारी नेतृत्वका लागि ध्यान प्रशिक्षण गर्नुपर्ने ।
- ध्यानलाई डिजिटल माध्यममार्फत सर्वसुलभ बनाउनु पर्ने ।
यसका लागि नेपालले आवश्यक पूर्वाधार, प्रशिक्षक र कार्यक्रमहरू तयार गरी विश्व सहकार्यका लागि तयार रहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, एण्डोरा र मेक्सिकोका स्थायी प्रतिनिधिले ध्यान दिवस मनाउनुको उद्देश्य प्रस्ट पारेका थिए । कार्यक्रममा एल पि भानु शर्मासँगै श्री श्री रवि शंकरलगायत विभिन्न देशका गुरु तथा गुरुमाताको प्रस्तुति थियो ।
संयुक्त राष्ट्र संघको मुख्यालयमै विभिन्न समुदायका लागि नेपालले आयोजना गरेको ‘जागृत मनः शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ कार्यक्रममा सहभागीलाई श्रद्धेय रमेश गुरुदेवले ध्यान गराउँदै ध्यानले शरीरमा रहेको शक्ति जगाउने र सक्रिय गराउने बताए । ध्यानले मनलाई शान्ति र सकारात्मकता दिने बताउँदै जीवनीशक्ति सबल बनाउने ध्यानको उद्देश्य भएको स्पष्ट पारे ।
उनले ध्यानको अभ्यासलाई मानिसको दैनिक जीवनसँग जोडनसके संसारबाट अशान्ति, कलह र तनावको अन्त्य हुने बताउँदै ध्यानलाई विश्वव्यापी बनाउनु पर्नेमा जोड दिए ।
श्रद्धेय भानु गुरुदेवले ध्यानका विभिन्न आयामको चर्चा गर्दै व्यक्तिभित्रका सम्भावना जगाउन शरीरका ऊर्जा केन्द्रहरू चिन्ने र सक्रिय गराउने स्वजागरण अभियान विश्वभर प्रयोग गर्नुपर्ने बताए । यसका लागि नेपालका तर्फबाट जीवन विज्ञानले स्वजागरण अभियान सुरु गरेको जानकारी दिए ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका उपमहासचिव अटुल खरे, संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि लोक बहादुर थापा, जीवन विज्ञान प्रतिष्ठानकी अध्यक्ष श्रद्धेय देवी गुरुमालगायत विभिन्न देश र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।
संयुक्त राष्ट्रसंघले सन् २०२४ मा घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाइन्छ ।





























प्रतिक्रिया