काठमाडौं। व्यस्त जीवनशैली, तनाव र मानसिक अशान्तिका बीच स्वयंसँग जोडिने अवसर प्रदान गर्दै काठमाडौंमा तीन दिने ‘त्रिदिवसीय सिद्धार्थ ध्यान योग’ कार्यक्रम आयोजना हुने भएको छ।
समर्थगुरु संघ नेपालको आयोजनामा आगामी फेब्रुअरी १९ देखि २१ सम्म समर्थगुरुद्वारा निर्देशित संरचित साधना पद्धतिको पहिलो स्तरको कार्यक्रम सञ्चालन हुन लागेको हो।
ध्यान के हो ?
समर्थगुरुदेवका अनुसार, आँखा बन्द गर्दा भित्र देखिने निराकार शून्यताप्रति जागृत रहनु र त्यसलाई प्रेमपूर्वक देखिरहनु नै वास्तविक ध्यान हो। यो केवल शान्तिका लागि मात्र नभई, स्वयंलाई चिन्ने र अकारण आनन्दमा बाँच्ने कला पनि हो। यस तीन दिने कार्यक्रममा सहभागीहरूले बुद्धले निर्देश गरेकाे आर्य अष्टाङ्गिक मार्गका सूत्रहरू मार्फत जीवनलाई दुःखमुक्त बनाउने कला सिक्ने अवसर पाउनेछन्। साथै, प्राचीन र प्रभावशाली ओंकार नादको विशेष ज्ञान समेत प्रदान गरिने आयोजकले जनाएको छ।
ध्यानबाट प्राप्त हुने १४ लाभहरू
१) तनावबाट मुक्ति: ध्यानले मानसिक र शारीरिक तनावलाई धेरै हदसम्म घटाउँछ र हल्कापन ल्याउँछ।
२) विचारको चाप घट्छ: अनावश्यक/व्यर्थ विचारको प्रवाह कम हुँदै मन बढी स्थिर र निर्विचारजस्तो हुन्छ।
३) गहिरो विश्रामः ध्यानले भित्रसम्म विश्राम दिन्छ—यसलाई ‘आत्माको स्नान’ जस्तो अनुभूति पनि भनिन्छ।
४) शान्ति: मनको उत्तेजना घट्छ र गहिरो शान्ति अनुभव हुन्छ।
५) प्रज्ञा र विवेक: भित्री समझ बढ्छ, सही–गलतको निर्णय क्षमता परिष्कृत हुन्छ।
६) कृतज्ञताः गुनासो घट्छ, जीवनप्रति धन्यवादभाव जाग्छ।
७) निर्भयता: बाहिरी र भित्री डरहरू क्रमशः कम हुँदै जान्छन्।
८) आत्मबोध: शरीर–इन्द्रियभन्दा पर ‘म आत्मा हुँ’ भन्ने अनुभूति/बोध बलियो हुन्छ।
९) मानसिक बन्धनबाट मुक्ति: विषय–वासनाप्रतिको आकर्षण घट्दै, मन हल्का र स्वतन्त्र बन्छ।
१०) साक्षीभावः जीवनका घटनाहरूलाई दर्शकझैँ हेर्ने क्षमता विकसित हुन्छ, दुःखको प्रभाव कम हुन्छ।
११) स्वीकार र तटस्थता: अनुकूल–प्रतिकूल परिस्थितिलाई समान रूपमा स्वीकार गर्ने शक्ति बढ्छ।
१२) आत्मबल: आत्मविश्वास र आत्मबल बढ्छ; मृत्युको भय पनि क्रमशः कमजोर हुँदै जान्छ।
१३) सुख: दृष्टि ‘जो छैन’ तिर होइन, ‘जो छ’ (शून्यता, आलोक, नाद) तिर टिक्न थाल्छ, सुख बढ्छ।
१४) आनन्द: अकारण प्रसन्नता र तृप्तिको अनुभव हुन्छ—यही ‘आनन्द’ हो।
फेब्रुअरी १९ देखि २१ सम्म हुने यस विशेष साधना कार्यक्रमका लागि सीटहरू सीमित गरिएको छ। इच्छुक साधकहरूले समयमै आफ्नो स्थान सुरक्षित गर्नका लागि सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ।































प्रतिक्रिया