डिजिटल समावेशीकरणमा नयाँ फड्कोः सुर्खेतमा ‘इम्प्यावरिङ एक्सेसिबल एजुकेसन’ सुरु

डिजिटल समावेशीकरणमा नयाँ फड्कोः सुर्खेतमा ‘इम्प्यावरिङ एक्सेसिबल एजुकेसन’ सुरु

केन्द्रबिन्दु
150
Shares

सुर्खेत । विकट भूगोल र स्रोतसाधनको अभावका बीच कर्णालीका बहिरा बालबालिकाहरूका लागि शिक्षाको नयाँ क्षितिज उघ्रिएको छ । वर्षौँदेखि परम्परागत शिक्षण पद्धतिमा सीमित यहाँका विद्यार्थीहरू अब आफ्नै मातृभाषा अर्थात् ‘नेपाली सांकेतिक भाषा’ मा डिजिटल माध्यमबाट सिक्न पाउने भएका छन्।

कर्णाली प्रदेशको एक मात्र बहिरा माध्यमिक विद्यालय, सिद्ध बहिरा बालक माध्यमिक विद्यालयमा ‘इम्प्यावरिङ एक्सेसिबल एजुकेसन इन नेपाल’ परियोजनाले एक शान्त तर शक्तिशाली डिजिटल क्रान्तिको सुरुआत गरेको छ। यस पहलले विद्यालयका १०४ जना विद्यार्थी (५५ छात्र र ४९ छात्रा) लाई नेपालको आधुनिक डिजिटल शिक्षा प्रणालीसँग प्रत्यक्ष जोडेको छ।

नेपालको सन् २०२१ को जनगणना अनुसार करिब साढे ६ लाख मानिस अपाङ्गताका साथ बाँचिरहेका छन्, जसमा ५० हजारभन्दा बढी बहिरा नागरिक दर्ता छन्। यद्यपि, विज्ञहरू यो संख्या ५ लाखको हाराहारीमा हुनसक्ने अनुमान गर्छन्। यति ठूलो जनसंख्या भए तापनि पहुँचयोग्य शैक्षिक सामग्री र तालिमप्राप्त शिक्षकको अभावमा धेरै बालबालिका शिक्षाको मूल प्रवाहबाट बाहिर छन्।

यही रिक्ततालाई चिर्न हिमालयन परिवार म्युनिख ई.भी. (जर्मनी) र ओएलई नेपालले राष्ट्रिय बहिरा महासंघ नेपाल, डायस्पोरा २०३० र जीआईजेड जर्मनीको सहयोगमा यो परियोजना सञ्चालनमा ल्याएका हुन्। यस अन्तर्गत विद्यालयको पाठ्यक्रमलाई नेपाली सांकेतिक भाषामा अनुवाद गरी अन्तरक्रियात्मक ई-लर्निङ मोड्युलहरू तयार पारिएको छ।

प्रविधिलाई कक्षाकोठामा प्रभावकारी बनाउन गत जनवरी ८ देखि ११ सम्म विद्यालयका १५ जना शिक्षकहरूलाई सघन तालिम प्रदान गरिएको छ। ओएलई नेपालका प्रशिक्षक दीपा थापा, त्रिवेन्द्र पन्त र राष्ट्रिय बहिरा महासंघका सांकेतिक भाषा विज्ञ प्रकाश महर्जनले शिक्षकहरूलाई डिजिटल सामग्री चलाउने र त्यसलाई शिक्षणमा जोड्ने सीप सिकाएका थिए ।

डिजिटल पुस्तकालय हस्तान्तरण समारोहमा बोल्दै हिमालयन परिवार म्युनिख ई.भी. का सल्लाहकार एवं परियोजना प्रबन्धक प्रकाश सुवेदीले भावुक हुँदै भने, “बहिरा बालबालिकाहरूमा पनि अन्य सरह सपना र क्षमता हुन्छ। उनीहरूलाई दया होइन, अवसर चाहिएको हो। अवसर पाए उनीहरू चम्किन्छन् भन्ने हाम्रो विश्वास छ।”

त्यस्तै, संस्थाकी अध्यक्ष बिना खाँडले यो परियोजनालाई एक ‘बीउ’ को संज्ञा दिँदै यसले भविष्यमा सिकाइका अनन्त सम्भावनाहरू खोल्ने विश्वास व्यक्त गरे । कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमाल र वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख धीरेन्द्र प्रसाद शर्माले अपाङ्गता भएका बालबालिकालाई डिजिटल मूलधारमा ल्याउनु राज्यको पनि प्राथमिकता हुनुपर्नेमा जोड दिए । उनीहरूले कर्णालीबाट यो अभियान सुरु गरेकोमा परियोजनालाई धन्यवाद दिए ।

समारोहमा जीआईजेड नेपालका सौरभ कोइरालाले परियोजनाको उपलब्धि र यसले ल्याएको सकारात्मक परिणामप्रति खुसी व्यक्त गरे र उपलब्ध गराइएका ल्यापटप र स्रोतको अधिकतम सदुपयोग गर्न शिक्षकहरूलाई आग्रह गरे । विद्यालयका प्रधानाध्यापक चिन्तामणि कँडेलले प्रविधिको प्रवेशले विद्यार्थीको सिकाइमा ठूलो परिवर्तन ल्याउने बताउँदै थप सहकार्यका लागि आह्वान गरे ।

परियोजनाको सबैभन्दा सुन्दर पक्ष विद्यार्थीहरूको उत्साहमा देखियो। ६ कक्षाका अर्जुन वस्नेत र विष्णुा कुमारि राेकाय अब आफू ‘कम्प्युटर इन्जिनियर’ बन्ने सपना देख्न थालेका छन भने ७ कक्षाका माैषम विष्ट भविष्यमा शिक्षक बनेर आफ्नै विद्यालयमा सेवा गर्न चाहन्छन्। सांकेतिक भाषा र प्रविधिको यो संगमले कर्णालीका यी विद्यार्थीहरूलाई समाजको किनाराबाट निकालेर आधुनिक नेपालको डिजिटल भविष्यको केन्द्रमा उभ्याइदिएको छ।

Skip This
Skip This
Logo