गलकोट। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा दुई हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ ।
बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । निर्वाचनमा नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ । बागलुङमा कायम १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी दुई हजार ६० जना कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
बागलुङमा २३० मतदान अधिकृत र २३० सहायक मतदान अधिकृतसँगै प्रत्येक मतदान केन्द्रमा अन्य सात जनाका दरले एक हजार ६१० कर्मचारी परिचालन गरिने तयारी रहेको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिएका छन् ।
निजामती कर्मचारीबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतमा प्राथमिकता दिइएको र अपुग कर्मचारी शिक्षकबाट ल्याउने तयारी गरिएको छ । बागलुङमा ६३७ नेपाल प्रहरी र एक हजार २९८ निर्वाचन प्रहरी परिचालन गरिने तयारी भएको बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् । उनका अनुसार पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिनेछ भने बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेना खटिनेछन् । सशस्त्र प्रहरी र नेपाली सेनाको सङ्ख्या सार्वजनिक नगरिने पनि उनले बताएका छन् ।
मोबाइल टोलीमार्फत समस्या देखिएका स्थानमा तत्काल प्रहरी परिचालन गरिने व्यवस्था गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरी मतदान केन्द्र बाहिर सतर्क रहने व्यवस्था मिलाइएको जनाइएको छ । बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी एक हजार ९३५ सुरक्षाकर्मी तथा दुई हजार ६० कर्मचारी गरी तीन हजार ९९५ जनशक्ति परिचालन गरिने भएको छ । नेपाली सेना र सशस्त्र प्रहरी भने अलग रूपमा खटिनेछन् ।
सुरक्षा संवेदनशीलता, मतदाताको सङ्ख्या र भौगोलिक पहुँचलाई आधार मानेर एक मतदानस्थल थप गरिएको र एक मतदान केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो । दुई मतदानस्थल स्थानान्तरण गरिएको छ ।
बागलुङमा १० स्थानीय तह र दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कुल एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता छन् । यसपटक दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
क्षेत्र नम्बर १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मङ्गोल नेशनल अर्गनाइजेसनका गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेकपा (एमाले)का हीराबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना, नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेकपा (माओवादी)का टेकबहादुर केसी चुनावी मैदानमा छन् ।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा (एमाले)की मन्जु शर्मा चालिसे, नेपाल कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन, नेकपा (माओवादी)का लोकेन्द्र घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम कुँवर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मङ्गोल नेशनल अर्गनाइजेसनका जुनबहादुर थापामगर, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती र नेशनल रिपब्लिक पार्टीका नरबहादुर बुढा चुनावी मैदानमा छन् ।































प्रतिक्रिया