पश्चिमी प्रणाली सक्रियः हिमाल-पहाडमा वर्षा र हिमपातको सम्भावना,तराईमा हुस्सु

पश्चिमी प्रणाली सक्रियः हिमाल-पहाडमा वर्षा र हिमपातको सम्भावना,तराईमा हुस्सु

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। देशमा अहिले उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसको असर मुख्यतः पहाडी र हिमाली क्षेत्रमा केन्द्रित भएको छ, जहाँ बादल बढेका छन् भने केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईमा भने मौसम अधिकांश समय खुला रहने अनुमान छ, बिहानपख केही ठाउँमा हुस्सु र तुवाँलो देखिन सक्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। ती क्षेत्रका थोरै स्थानमा चट्यांगसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि समान प्रकृतिको मौसम विकसित हुन सक्छ।

आज राति पनि हिमाली क्षेत्रमा बदली कायमै रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतया सफा मौसम रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना औंल्याइएको छ।

महाशाखाले वर्षा र हिमपातका कारण उच्च पहाडी तथा हिमाली जिल्लामा सडक र हवाई यातायात प्रभावित हुन सक्ने जनाएको छ। कृषि गतिविधि, दैनिक जनजीवन र स्वास्थ्यमा पनि आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Logo