ललितपुर।
जावलाखेलस्थित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन्।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापना गरेको यो चिडियाखाना पछि सर्वसाधारणका लागि खुला गरिएको हो। अहिले यो राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालनमा छ।
चिडियाखाना प्रशासनका अनुसार नयाँ जन्मिने, मर्ने तथा जङ्गलबाट उद्धार गरेर ल्याइने जीवजन्तुका कारण सङ्ख्या समय–समयमा घटबढ हुने गर्छ।
यहाँ सबैभन्दा बढी आयु भएको जनावर ‘पवनकली’ नामको ७६ वर्षे हात्ती हो। चिडियाखानामा चार वटा बाघ छन्, जसमा १५ वर्षको ‘बगौरा’ सबैभन्दा बढी उमेरको हो। तीन वटा गैँडामध्ये १४ वर्षको ‘बाङ्गे’ सबैभन्दा पुरानो रहेको छ।
कम आयु हुने जीवमध्ये मुसा पर्छ, जसको औसत आयु पाँचदेखि छ वर्ष हुन्छ। चिडियाखानामा उत्पादन गरिएका मुसा र खरायो हप्तामा एकपटक अजिङ्गरको आहाराका रूपमा प्रयोग गरिन्छ।
बिरामी परेका जीवजन्तुलाई छुट्टै क्वारेन्टाइनमा राखेर उपचार गर्ने व्यवस्था गरिएको छ। वातावरण पूर्ण रूपमा अनुकूल नहुँदा धेरै जनावरमा प्रजनन दर भने कम रहेको चिडियाखाना प्रशासनले जनाएको छ।































प्रतिक्रिया