सेनाले माग्यो, कोशी प्रदेशमा सुकुम्बासी बस्तीको विवरण, पालिकाहरुमा विवरण पठाउन पत्रचार

सेनाले माग्यो, कोशी प्रदेशमा सुकुम्बासी बस्तीको विवरण, पालिकाहरुमा विवरण पठाउन पत्रचार

केन्द्रबिन्दु
0
Shares

धनकुटा। नेपाली सेना र जिल्ला प्रशासन कार्यालयले कोशी प्रदेशका केही जिल्लामा सुकुमबासी बस्तीको विवरण संकलन गर्न थालिएको छ । नेपाली सेना र जिल्ला प्रशासन कार्यालयहरूले सुकुमबासी बस्तीहरूको विवरण पठाउन स्थानीय पालिकाहरुलाई पत्रचार गरेको छ । 

प्रदेशका तराइका जिल्लाहरूमा अव्यवस्थित बस्तीहरूको नाम, बस्ती बसेको मिति,  घर सङ्ख्या र त्यहाँ बसोबास गर्नेहरूको लगत सङ्कलन गरेर पठाउन निर्देशन दिइएको छ । मोरङमा नेपाली सेनाको शिवदल गण थलाह ब्यारेकले सबै पालिकामा एउटै ब्यहोराको पत्रचार गर्दै सुकुमबासी बस्तीको विवरण मागेको छ । शिवदल गणका सेनानी किरण कार्कीले हस्ताक्षर गरी पठाइएको पत्रमा विवरण अति आवश्यक भएको हुँदा तत्काल पठाउन भनिएको छ ।

उदयपुरमा पनि नेपाली सेनाले नै सुकुमबासी बस्तीहरूको विवरण संकलनमा सक्रियता देखाएको छ । भूमि समस्या समाधान आयोगमा पत्र पठाउँदै पशुपति प्रसाद गण पिपलटारले त्यस्ता बस्तीको विवरण, बस्ती बसेको मिति र घरधुरी संख्या मागेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लामा सरकारी जग्गामा बसेका सुकुमबासी बस्ती, ऐलानी प्रति जग्गामा बसेका बस्ती र गुठीको जग्गामा बसेका बस्तीहरूको विवरण माग गरिएको जनाएको छ । झापाका सीडीओ शिवराम गेलालले सरकारी जग्गाको क्षेत्रफल,घर सङ्ख्या र परिवार सङ्ख्याको विवरण मागिएको बताए ।

मोरङ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार सबै पालिकाहरूसँग अव्यवस्थित बस्तीहरूको विवरण मागिएको बताए । विवरण संकलन पूरा भएपछि अपरेसनमा जाने उनको भनाइ छ । कारबाही कहिलेबाट सुरू गर्ने बारे निर्णय भइनसकेको उनले बताए ।

कोशी प्रदेशको सुनसरी, मोरङ, झापा र उदयपुरमा सुकुमबासी बस्तीहरू धेरै छन् । पहाडी जिल्लाहरूमा गुठीका जग्गामा बसोबास गर्नेहरूको सङ्ख्या बढी रहेको बताइन्छ । बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा-५ लगायत कोशी प्रदेशका सुकुमबासी बस्तीमा त्रास फैलिएको छ ।

Logo