नारायणगढ-बुटवल सडकको दाउन्नेमा एकतर्फी ढलान सकियो, १४ दिन पछि ढलान सडकमा यातायात चल्ने

नारायणगढ-बुटवल सडकको दाउन्नेमा एकतर्फी ढलान सकियो, १४ दिन पछि ढलान सडकमा यातायात चल्ने

केन्द्रबिन्दु
30
Shares

नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा दाउन्ने सडकको करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको छ ।

ढलान सकिएको १४ दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सडकबाटै यात्रा गर्न सकिने सूचना अधिकारी खनालले बताए । दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको थियो । दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ-बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग ६५ किलोमिटर सडक कालोपत्र र ढलानले जोडिएको छ ।

नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक-पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक थपिएको म्यादमा काम अघि बढिरहेको छ ।

एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल करिब रु १७ अर्ब लागत रहेको छ ।

Logo