काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता कायम राख्न सम्पूर्ण न्यायाधीशहरूलाई कुनै पनि प्रकारको डर वा प्रलोभनमा नपरी काम गर्न आग्रह गरेकी छन् ।
शनिबार कानुन दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मल्लले न्याय सम्पादनका क्रममा कसैको डर वा प्रभाव स्वीकार्य नहुने स्पष्ट पारिन् ।
उनले भनिन्, “म सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु- न्याय सम्पादन गर्दा डर र प्रभावमा पर्नु हुँदैन। चाहे त्यो सरकारको डर होस् वा महाभियोगको, कुनै पनि त्रासबाट मुक्त भई आत्मबलका साथ कानुनको शासन कायम गर्न लाग्नुपर्छ।”
गम्भीर चुनौतीहरूका बीच पनि संविधानवाद र विधिको शासनलाई सर्वोपरी राख्नुपर्नेमा जोड दिँदै उनले राज्यका सबै अंगहरूबीचको समन्वय र सद्भावले नै लोकतन्त्र बलियो हुने बताइन् ।
“राज्यका विभिन्न अंगका प्रमुखहरू एउटै छानामुनि उपस्थित हुनुले हाम्रो लोकतान्त्रिक परम्परालाई जीवन्त तुल्याएको छ,” उनले भनिन्, “यसले हामीलाई अत्यन्त हर्षित र गौरवान्वित बनाएको छ।”





























प्रतिक्रिया