त्रिविको जग्गा दर्जनौं संघसंस्थाले भाडामा प्रयोग गर्दै, ३५ दिने म्याद भित्र कसैले फिर्ता गरेनन्

त्रिविको जग्गा दर्जनौं संघसंस्थाले भाडामा प्रयोग गर्दै, ३५ दिने म्याद भित्र कसैले फिर्ता गरेनन्

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । अतिक्रमित जग्गा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले दिएको ३५ दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता गरेका छैनन् । त्रिविले जग्गा अतिक्रमणमा संलग्न १७ निकायलाई ३५ दिनभित्र जग्गा फिर्ता गर्न वैशाख ४ मा सूचना जारी गर्दै पत्राचार गरेको थियो ।

तर, कुनै पनि निकायबाट जग्गा फिर्ता नभएको त्रिवि सामान्य प्रशासन महाशाखाका प्रमुख राजबहादुर राईले जानकारी दिए । ‘१७ निकायलाई पत्र लेखका थियौं। तीमध्ये ९ वटा निकायले जवाफ लेखेका छन्,’ उनले भने, ‘तीमध्ये पनि ३ वटाले जग्गा खाली गर्न प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक र कर्मचारी संघले भने भाडामा लगाएको जग्गा फिर्ता गराउन सूचना जारी गरेको जानकारी दिएको महाशाखाले जनाएको छ ।

त्रिवि कार्यकारी परिषद्ले प्राध्यापक, कर्मचारी संगठनलाई उपयोग गर्न दिएको जग्गा पेट्रोल पम्प, होटल, नर्सरी सञ्चालन गर्न भाडामा लगाइएको थियो । विश्वविद्यालयले जग्गा फिर्ता गर्न ताकेता गरेपछि भाडामा लगाएको जग्गा फिर्ता गर्न ती संगठनले पत्राचार गरेका हुन् । ‘जग्गा फिर्ता गर्न ३५ दिने सूचना दिएका रहेछन्। त्यसको जानकारी महाशाखालाई प्राप्त भएको छ,’ राईले भने ।

निमित्त उपकुलपति सुशीलबहादुर वज्राचार्यले अतिक्रमित जग्गा फिर्ता हुने प्रक्रियामा रहेको जनाए। ‘सरकारी र निजी क्षेत्रले लिएको जग्गाको तथ्यांक अध्ययन गर्दै छौं। प्राध्यापक र कर्मचारी संगठनले लिएको जग्गा फिर्ता गर्ने कुरा भएको छ,’ उनले भने, ‘अतिक्रमणमा परेका सबै जग्गा फिर्तालाई प्राथमिकता दिएका छौं।’

त्रिवि प्राध्यापक संघले ८ रोपनी, नेपाल प्राध्यापक संघले ६ रोपनी १२ आना र कर्मचारी संघले ५ रोपनी जग्गा भाडामा लिई भाडामा लगाएको प्रतिवेदनमा उल्लेख छ। महाशाखाका अनुसार बीपी कोइराला मेमोरियल प्यानेटोरियम, ल्याबरोटरी स्कुल, आयुर्वेद अनुसन्धान केन्द्र, राधास्वामी सत्संग व्यास नेपाल, ग्लोबल आईएमई बैंक र नेत्रज्योति संघले त्रिविलाई पत्रचार गरेर जग्गा फिर्ता गर्न नसकिने जनाएको छ ।

त्रिविको १०८ रोपनी जग्गा निःशुल्क भोगचलन गर्दै आएको ल्याबरोटरी स्कुलले भाडामा जग्गा लिन तयार रहेको पत्र त्रिविमा पठाएको महाशाखाले जनाएको छ। २ हजार ३ सय विद्यार्थी र २ सय शिक्षक, कर्मचारी स्कुलमा रहेकाले त्रिविकै व्यवस्थापनमा विद्यालय सञ्चालन गर्न तयार रहेको पनि पत्रमा उल्लेख छ।

त्यस्तै बीपी कोइराला मेमोरियल प्यानेटोरियमले जग्गा खाली गर्न असम्भव रहेको पत्र त्रिविमा पठाएको महाशाखाले जनाएको छ । राधास्वामी सत्संगले भने सामाजिक संस्था भएकाले निःशुल्क जग्गा उपलब्ध गराइदिन विश्वविद्यालयलाई आग्रह गरेको छ। अन्य संघसंस्था सम्पर्कमा नआएको महाशाखाले जनाएको छ।

नेपाल क्रिकेट संघ, कृषि बागबानी केन्द्र, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल बैंक लिमिटेड, रक्तसञ्चार केन्द्र, कीर्तिपुर नगरपालिका, नेपाल विद्युत् प्राधिकरण र कवीन्द्र जेभीलाई अतिक्रमित जग्गा फिर्ता गर्न त्रिविले पत्राचार गरेको थियो ।

Logo