के हो ‘एल निनो’ यसको प्रभाव के पर्छ

के हो ‘एल निनो’ यसको प्रभाव के पर्छ

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । विश्वका मौसमविद्हरूको ध्यान भने प्रशान्त महासागरमा केन्द्रित छ । प्रक्षेपणअनुसार त्यहाँ एल निनो विकसित भए त्यो इतिहासकै बलियो एल निनोमध्ये एक हुन सक्ने उनीहरूले चेतावनी दिएका छन् । जसले दक्षिण एसियासहित नेपालमा कमजोर मनसुन, तापक्रम वृद्धि, खडेरी, कृषि उत्पादनमा गिरावटसँगै खाद्य संकटको चिन्ता बढाएको छ ।

विश्व मौसम संगठन (डब्ल्यूएमओ) को दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) ले हालै सार्वजनिक गरेको प्रक्षेपणले पनि यस वर्ष दक्षिण एसियामा औसतभन्दा कम वर्षा हुने देखाइसकेको छ । मञ्चको बैठकमा सहभागी मौसमविद्‌हरूले यो मनसुनमा ‘एल निनो’ विकास हुने सम्भावना देखाएका थिए ।

दक्षिण एसियाको ठूलो भागमा औसतभन्दा कम वर्षा हुने तर उत्तर-पश्चिम, उत्तर-पूर्व र दक्षिणी केही क्षेत्रमा सामान्य वा बढी वर्षा हुन सक्ने सास्कोफको प्रक्षेपण छ । यो अवधिमा दिनको अधिकतम र रातको न्यूनतम तापक्रम दुवै औसतभन्दा माथि रहनेछ ।

जल तथा मौसम विज्ञान विभागले हालै मनसुनी प्रक्षेपण सार्वजनिक गर्दै नेपालका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने भनेको छ । अधिकतम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको प्रक्षेपण छ ।

‘आधिकारिक रूपमा सास्कोफ र विभागको आउटलुकमा एल निनो भएमा औसतभन्दा कम वर्षा हुने हुने भनिएको छ । वर्षा र बादल कम हुँदा स्वाभाविक अधिकतम र न्यूनतम तापक्रम बढ्छ,’ वरिष्ठ मौसमविद् वरुण पौडेल भन्छन्, ‘मनसुनको समग्र अवधिमा तापक्रम बढ्ने सम्भावनाको प्रतिशत बढी देखिएको छ ।’

एल निनो एउटा प्राकृतिक मौसमी चक्र हो । प्रशान्त महासागरको पानी असामान्य रूपमा तातो बन्दै गएपछि यसले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ । यहाँबाट उठेको तातो वाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ ।

सामान्यतया यसले अमेरिकाका केही भागमा अत्यधिक वर्षा गराउँछ भने दक्षिण र दक्षिण-पूर्वी एसिया (नेपाल, भारतजस्ता मुलुक), अस्ट्रेलिया र दक्षिणी अफ्रिकामा खडेरीको जोखिम बढाउँछ । यसको ठिक उल्टो ला निनाले भने समुद्री सतहको तापक्रम चिसो बनाउँदै मनसुनी वर्षामा योगदान पुर्‍याउँछ ।

यस्तो मौसमी चक्र औसतमा ३ देखि ५ वर्षको अन्तरालमा दोहोरिन्छ । यद्यपि यो २ देखि ७ वर्षसम्म पनि फरक पर्न सक्छ । एल निनो बढीमा १८ महिनासम्म रहन सक्ने वैज्ञानिक बताउँछन् ।

एल निनो घटनाहरूको मापन प्रशान्त महासागरको मध्य भागमा पर्ने एक विशाल आयातकार क्षेत्रमा तापक्रमको स्तर हेरेर गरिन्छ । मध्यम स्तरको एल निनोमा दीर्घकालीन औसतभन्दा करिब १ डिग्री सेल्सियसले तापक्रम बढ्न सक्छ । जब यो तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्छ, त्यसलाई शक्तिशाली एल निनो मानिन्छ ।

पछिल्ला ५० वर्षका सबैभन्दा ठूला एल निनो घटनाहरू (सन् १९८२, १९९७ र २०१५) मा तापक्रम औसतभन्दा २ डिग्री सेल्सियस वा त्योभन्दा धेरैले बढेको थियो । ती प्रत्येक घटनाले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेका थिए । यस वर्षका धेरै पूर्वानुमानअनुसार तापक्रम त्यसभन्दा बढी हुन सक्ने सम्भावना छ ।

यस वर्षको अन्त्यतिर एल निनो उत्कर्षमा पुग्न सक्ने र सन् २०२७ इतिहासकै सबैभन्दा तातो वर्ष हुन सक्ने धेरै वैज्ञानिकहरूले अनुमान गरेका छन् । अमेरिकाको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले एल निनो आगामी महिनाभित्रै सुरू हुने संकेत दिएको छ । जुन–अगस्टमा एल निनो विकसित हुने सम्भावना ६२ प्रतिशत रहेको छ, जुन २०२६ को अन्त्यसम्म कायम रहने एनओएएको अनुमान छ ।

पछिल्ला केही सातायता उष्णकटिबन्धीय प्रशान्त महासागरमा देखिएको तापक्रम वृद्धिको गति निकै तीव्र रहेको छ । युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फरकास्ट (ईसीएमडब्ल्यूएफ) लाई उद्धृत गर्दै बीबीसीले पूर्वानुमान मोडेलहरूले सेप्टेम्बर-नोभेम्बरसम्म तापक्रम २.५ भन्दा बढीले वृद्धि हुन सक्नेछ ।

Logo